मनोनयनको दिन नजिकिँदै जाँदा मुलुकको राजनीतिक राष्ट्रपति निर्वाचनकै वरिपरि
काठमाडौं । अहिले देशको राजनीति नै राष्ट्रपति निर्वाचनको वरिपरि घुमिरहेको छ । दलहरु दिनरात नभनी छलफलमा जुटिरहेका छन् । सबैको ध्यान आफूले भनेकै व्यक्ति राष्ट्रपति हुनुपर्छ भन्नेमा केन्द्रित छ । मनोनयनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । २५ गते हुने राष्ट्रपति चयनको प्रक्रिया कस्तो छ त ?
निर्वाचन आयोगले बानेश्वरस्थित सघीय संसद् भवन परिसरमै राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय खोलेको छ । अब निर्वाचनका सबै कार्यक्रम यही कार्यालयबाटै सञ्चालन हुनेछन् । फागुन १० गते मतदाता नामावली प्रकाशन, १३ उम्मेदवार मनोनयन र २५ गते मतदानको कार्यक्रम पनि यहिँबाट हुनेछ । उपराष्ट्रपति चयन गर्न २७ गते मनोनय दर्ता र चैत ३ गते मतदान हुनेछ ।
राष्ट्रपति र उपराष्ट्रपति चयनका लागि संघीय सांसद र प्रदेशसभा सदस्य मतदाता हुन् । संघतर्फ ३३४ र प्रदेशसभातर्फ ५ सय ५० गरी ८ सय ८४ मतदाता छन् । उनीहरुको मतभार भने फरक फरक छ । संघीय सांसदको मतभार ७९ र प्रदेशसभा सदस्यको मतभार ४८ हुन्छ । जम्मा मतभार ५२ हजार ७ सय ८६ छ । मतभार निर्वाचन हुन अगाडिको जनगणनालार्इ आधार मानेर तय गरिन्छ । तर अहिले जनगणनाको पूर्णविवरण सार्वजनिक नभएकाले पुरानै तथ्यांकलाई आधार मानिँदै छ ।
वर्तमान राष्ट्रपतिको पदावधि फागुन २८ र उपराष्ट्रपतिको चैत ३ गते सकिँदै छ । राष्ट्रपतिको पदावधि सकिनु एक महिनाअगाडि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था छ तर निर्वाचन आयोगले संविधानले पाँच वर्षको अवधि भनेकाले अगाडि गर्न नसकिएको जनाएको छ ।
अहिले संघीय संसदको एक स्थान खाली छ । दुर्इ सदस्य निलम्वनमा छन् । त्यसैले अन्तिम मतदाता नामावली सार्वजनिक भएपछि जम्मा मतदाताको संख्या निर्धारण हुनेछ । जसले मतभारसमेत एकीन गर्नेछ । राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुन जम्मा मतभारको ५० प्रतिशत मत कटाउनुपर्नेछ ।