प्रजातन्त्र सेनानी एवं भक्तपुरका कांग्रेस नेता ठकुरीको निधन, नेपाली कांग्रेसलाई अपूरणीय क्षति
भक्तपुर । राणा शासनविरुद्ध र प्रजातन्त्र प्राप्तिका लागि वि.सं २००७ देखि देशमा भएका विभिन्न जनआन्दोलनमा सक्रिय रहँदै पटकपटक जेल जीवन बिताएका प्रजातन्त्र सेनानी रामबहादुर ठकुरीको आज निधन भएको छ ।
नेपाली कांग्रेस भक्तपुरका अग्रज नेता एवं नेपाली कांग्रेस भक्तपुरका आठौँ जिल्ला सभापति रहँदै प्रजातान्त्रिक आन्दोलनमा पटकपटक जेल जीवन बिताउनुभएका ठकुरीको सूर्यविनायक नगरपालिका–३ बालकोटस्थित आफ्नै निजी निवासमा ९८ वर्षको उमेरमा निधन भएको हो । वि.सं १९८२ कात्तिक १३ गते बालकोटमा जन्मनु भएका ठकुरीले जनतालाई शिक्षा लिन अभिप्रेरित गर्दा राणा शासकले पटकपटक त्यसो नगर्न धम्की दिई मानसिक यातना दिएको उहाँको परिवारले जानकारी दिएको छ ।
कांग्रेसका नेता एवं नेपाल तरुण दलका पूर्वअध्यक्ष विनोद कायस्थले वि.सं २००७ को राणा विरोधी आन्दोलनमा सहभागी भई प्रजातन्त्र स्थापनामा सक्रिय ठकुरी प्रजातन्त्र स्थापनापछि शिक्षण संस्था स्थापना गरी जनतालाई शिक्षाको चेतना फैलाउने अभियानकर्मी पनि रहेको बताए ।
उनले नेपाली कांग्रेसले सुरु गरेको भूमिसुधार अभियानमा सहभागी भई किसान आन्दोलनमा महत्त्वपूर्ण र नेतृत्वदायी भूमिका निर्वाह गरेका कायस्थले जानकारी दिए । राजा महेन्द्रले वि.सं २०१७ पुस १ गते तत्कालीन जननिर्वाचित सरकारलाई अपदस्थ गरी प्रजातन्त्र खोसेपछि प्रजातन्त्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा होमिँदा फर्पिङबाट काठमाडौं आउने बिजुलीको लाइन काट्ने अभियानमा संलग्न भएकामा उनले आठ वर्ष निर्वासनमा बिताउनुपरेको थियो ।
त्यसपछि ठकुरीले वि.सं २०३६ को जनमत सङ्ग्रह र वि.सं २०४२ को सत्याहग्रमा प्रजातन्त्रको पक्षमा सक्रिय भूमिका निर्वाह गरे भने २०४२ सालको सत्याग्रहमा कान्छा छोरा सुनिल ठकुरी र भाई कृष्णबहादुर ठकुरीलाई प्रहरीले पक्राउ गरी कारागार चलान गरेपछि उनी केही समय भूमिगत हुनुपरेको थियो । स्वर्गीय ठकुरीका चार छोरा र दुई छोरी रहेकी छन् । स्वर्गीय ठकुरीको बालकोटमा शवत्राया गरी पशुपति आर्यघाटमा हिन्दू धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिएको थियो ।
ठकुरीको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाली कांग्रेस भक्तपुरका सभापति एवं भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले नेपाली कांग्रेसलाई अपूरणीय क्षति पुगेको बताए । उनले नेपाली कांग्रेसले स्वर्गीय ठकुरीको योगदानलाई सधै जीवन्त राख्ने बताए ।