माधवको नाम राष्ट्रपतिमा आएपछि एकीकृत समाजवादीमा बबन्डर
काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले माधवकुमार नेपाललाई राष्ट्रपतिमा प्रस्ताव गरेको भन्ने चर्चाले अहिले एकीकृत समाजवादी र एमाले दुवै दलमा बबन्डर मच्चिएको छ । एमालेको एउटा पक्षले ओलीले माधवलाई पार्टी एकता गर्ने सर्तमा राष्ट्रपतिमा अघि सारेको भन्ने प्रचार गरेपछि एकीकृत समाजवादीमा असन्तुष्टि बढेको हो ।
एकीकृत समाजवादीले ओलीको यो प्रचारलाई एमालेको नयाँ ‘ढोक्सा’को संज्ञा दिएको छ । सत्ता साझेदार र प्रतिपक्षी दलसमेत मिलेर एमालेलाई राष्ट्रपति नदिने भएपछि ओलीभित्र चलेको छटपटीको नयाँ ‘ढोक्सो’ थापिएको चर्चा चलेको हो ।
राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा गठबन्धनभित्र चुलिएको असन्तुष्टि मेटाउन थापिएको नयाँ ‘ढोक्सा’ मात्रै भएको एकीकृत समाजवादीका उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले बताएका छन् । ओलीले साँच्चै प्रस्ताव गरेको भए अध्यक्ष माधव नेपालले पार्टीको बैठकमा छलफल गराउनुपर्ने खतिवडाको उनको भनाइ छ ।
एमालेले अहिलेसम्म एकीकृत समाजवादीलाई पार्टी नै स्वीकार गरेको छैन । एकीकृत समाजवादीलाई राष्ट्रिय पार्टी बन्न नदिन ओलीले निकै कसरत गरेका थिए । अघिल्लो दिनसम्म माधव नेपाल र उनको दललाई पार्टी र नेताको हैसियतमा नदेख्ने ओलीले एक्कासि राष्ट्रपतिको प्रस्ताव गरेको कुरा प्रचारका लागि आएको एकीकृत समाजवादीका अधिकांश नेता कार्यकर्ताको आशंका छन् ।
चुनावअघि र चुनावको परिणाम सार्वजनिक भएपछि पनि एकीकृत समाजवादीले यदि पार्टीले राष्ट्रपति पाएमा झलनाथ खनाललाई बनाउने निर्णय गरिसकेको छ । त्यही भएर अहिले एमाले अध्यक्ष ओली मात्र होइन, माधव नेपालसमेत खनाललाई बाइपास गरेर जान सक्ने अवस्थामा छैनन् । झलनाथ पहिलेदेखि नै राष्ट्रपतिका आकांक्षी हुन् । विद्यादेवी भण्डारीलाई ओलीले एकाएक राष्ट्रपतिमा प्रस्ताव गरेदेखि झलनाथ खनाल ओलीसँग आक्रोशित हुँदै आएका छन् । पार्टीले पहिले नै निर्णय गरेकाले पनि माधव नेपाल राष्ट्रपति बन्न नसक्ने अवस्था आएको हो । ओलीले झलनाथलाई नदिने, माधव नेपाललाई पार्टीले स्वीकार गर्न नसक्ने अहिलेको अवस्था छ ।
एमालेमा पनि राष्ट्रपतिको विषयलाई लिएर विवाद देखिन थालेको छ । अहिलेसम्म अध्यक्ष केपी ओलीले औपचारिक रूपमा पार्टीमा छलफल चलाएका छैनन् । एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति हुन नहुने भन्दै ओलीविरुद्ध जेहाद छेडेका छन् । उनले आफू पनि राष्ट्रपतिका लागि योग्य भएको अभिव्यक्ति सार्वजनिक गर्न थालेका छन् । आफू निकटस्थ नेता र पत्रकारमार्फत नेम्वाङले आफ्नो दाबेदारी अघि बढाएका हुन् । एमालेमा अन्तिम दिन ओलीले ईश्वर पोखरेललाई राष्ट्रपतिको उम्मेदवार बनाउन सक्ने चर्चा छ ।