कांग्रेसभित्र एकाएक राष्ट्रपतिमा पौडेलकोभन्दा सिटौलाकै नाम चर्चामा

काठमाडौं । नेपाली कांग्रेसमा राष्ट्रपतिको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा औपचारिक छलफल सुरु भएको छ । अहिलेसम्म अनौपचारिक ढंगले राष्ट्रपतिको नाम चर्चामा आइरहे पनि बुधबारदेखि पार्टी सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौलाको नाम राष्ट्रपतिका लागि चर्चामा छ । सभापति देउवाले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राष्ट्रपतिमा पौडेल र सिटौलाको नाम दिएका छन् ।

बुधबारसम्म पौडेल राष्ट्रपतिका बलिया उम्मेदवार थिए । तर एकाएक राजनीति सिटौलाको पक्षमा ढल्केको छ । सिटौला प्रचण्डको इन्ट्रेस्टमा आएको नाम हो । अहिले कांग्रेसमा पौडेलभन्दा सिटौलाकै नाम बलियो बन्दै गएको छ । खासगरी भारतीय दबाबमा सिटौलाको नाम प्रचण्डले अगाडि ल्याउन चाहेको कांग्रेस नेताहरूको बुझाई छ । सिटौला अहिले सांसद छैनन् ।

झापा ३ बाट राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग पराजित भएका सिटौलालाई किन राष्ट्रपतिका लागि अघि सारियो भन्ने विषयले सबैको ध्यान आकर्षित गरेको छ । कांग्रेस सभापति देउवा पनि पौडेलभन्दा सिटौलाकै पक्षमा देखिएको चर्चापछि कतै उनी नै राष्ट्रपति बन्ने त होइन भन्ने धेरैको आशंका छ ।

माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन र दिल्लीमा तत्काली सात दल र माओवादीबीच १२ बुँदे सहमतिका सूत्राधारमध्येका सिटौला पनि एक हुन् । त्यसबेलादेखि नै प्रचण्ड र सिटौलाको सम्बन्ध हार्दिक बन्दै गएको हो । तर पनि २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा गृहमन्त्री रहेका सिटौला माओवादीकै उम्मेदवार धर्मशिला चापागाईबाट पराजित बने ।

सिटौला अहिले कांग्रेस केन्द्रीय सदस्य मात्र हुन् । नेपाली कांग्रेसको महामन्त्री भइसकेको र सभापतिमा समेत एकपटक उठिसकेकाले उनलाई राष्ट्रपति बनाउन सकिने भन्दै माओवादीबाट देउवालाई धेरै दबाब परेको बुझिएको छ ।

राष्ट्रपतिमै चर्चामा आएका पौडेल तनहुँ २ बाट निर्वाचित भएका हुन् । अघिल्लो निर्वाचनमा उनी एमालेका किसान श्रेष्ठसँग पराजित भएका थिए । यसपटक एकीकृत समाजवादीमा रहेका श्रेष्ठलाई बारा ४ मा पठाएर पौडेल चुनाव जित्न सफल भएका हुन् । संसदमा एउटा सिट पनि निकै महत्वपूर्ण हुन्छ । प्रचण्डले चार वर्षपछि चुनावी सरकार कांग्रेसलाई हस्तान्तरण गर्ने सहमति हुँदैछ । त्यसबेला विश्वासको मत चाहिँदा पौडेलको मत पनि महत्वपूर्ण हुने देउवाको ठम्याइँ छ ।

पौडेल राष्ट्रपति बनेर गएपछि तनहुँ २ मा उपनिर्वाचन गराउन सकिन्छ । तर चुनावमा जित्ने कुनै ग्यारेन्टी कांग्रेसको हुन्न । एमाले पनि त्यत्तिकै बलियो छ । एमालेको गठबन्धन बलियो बन्ने अवस्था छ ।
एमालेलाई रास्वपा र राप्रपाको बलियो साथ छ । त्यही भएर एक भोटकै लागि भए पनि पौडेल अहिले राष्ट्रपति नबन्न पनि सक्ने सम्भावना उत्तिकै छ । तर राजनीति हो यही हुन्छ भनेर भविष्यवाणी गर्न गाह्रो छ ।

एमालेले उठाउन सक्ने राष्ट्रपतिको उम्मेदवारबारे पनि कांग्रेस र माओवादी केन्द्र उत्तिकै सचेत छन् । एमाले अध्यक्ष केपी ओलीले माधव नेपाललाई राष्ट्रपतिमा समर्थन गरेर कांग्रेस र माओवादीलाई नैतिक संकटमा पार्ने सम्भावना पनि प्रबल नै छ । तर झापाका सिटौला राष्ट्रपतिको उम्मेदवार बनेमा ओलीलाई प्रभावशाली व्यक्तिलाई राष्ट्रपतिको उम्मेदवार बनाउन संकट पर्ने बुझाईमा प्रचण्ड भएकाले सिटौलाको नाम बलियो बन्दै गएको हो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *