दुई महिनामै प्रचण्ड र ओलीबीच सम्बन्ध विच्छेद
काठमाडौं । जन्मदिनकै दिन एमाले अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘सरप्राइज गिफ्ट’ दिने भएका छन् । त्यो गिफ्ट भनेको अहिलेको सत्तागठबन्धन भत्काएर पुरानै पाँचदलीय गठबन्धन निर्माण हो ।
त्यसका लागि पुरानो पाँचदलीय गठबन्धनमा आबद्ध दलहरू नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र लोसपाबीच छलफल चलिरहेको छ । अब बन्ने नयाँ गठबन्धनमा सिके राउत नेतृत्वको जनमत पार्टी पनि सहभागी हुने बुझिएको छ ।
बुधबार राति प्रधानमन्त्री निवास बालुवाटारमा भएको बैठकमा पुरानै गठबन्धनलाई व्युँताउने विषयमा छलफल भएको थियो। नेपाली कांग्रेस र माओवादी केन्द्रबीच भएको निर्णायक वार्तामा पुरानै गठबन्धन व्युँताएर नयाँ रणनीतिका साथ अगाडि बढ्ने विषयमा छलफल भएको हो। बैठकमा संविधानको रक्षाका लागि भए पनि पुरानै गठबन्धन आवश्यक रहेको भन्दै प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई कायमै राखेर निर्वाचनअघिको पुरानो गठबन्धन व्युँताउने विषयमा छलफल भएको थियो ।
एमाले अध्यक्ष ओलीको प्रतिगमनका कुरा कोट्याउँदै कांग्रेस नेताहरूले पाँचदलीय गठबन्धनलाई फेरि व्युँताउनुपर्ने धारणा राखेका थिए। राष्ट्रपति नेपाली कांग्रेसलाई नै दिएर अगाडि बढ्ने विषयमा छलफल भएको थियो। कांग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपतिमा एकीकृत समाजवादी र जनता समाजवादीको समेत समर्थन रहने दाबी गरेका थिए। आज दिउँसो पुरानो पाँचदलीय गठबन्धनमा आबद्ध दलहरूको बैठक बस्ने तयारी भएको छ । साँझसम्म नयाँ सत्ता समीकरणको सहमति हुने बुझिएको छ ।
गत पुस १० गते कांग्रेस नेताहरूको कमजोरीका कारण ओलीले पाँचदलीय गठबन्धन टुटाएर प्रचण्डलाई प्रधानमन्त्री बनाएका थिए । ओलीसँगको प्रचण्डको हार्दिक सम्बन्ध १५ दिन पनि टिक्न पाएन । पुस २६ गते प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत लिने बेला एक्कासि नेपाली कांग्रेसले समर्थन गरेपछि ओली झस्केका थिए । त्यही भएर उनले संसदमै भनेका थिए– ‘केही पाइन्छ भनेर नेपाली कांग्रेसले ढोक्सा थापेको भए त्यसमा केही पर्दैन, रित्तै हुन्छ ।’ प्रचण्डले संसदमा प्रचण्ड समर्थन प्राप्त गरेपछि ओली चिन्तामा परेका थिए । त्यही बेला ओलीले सोचेका थिए, प्रचण्ड आफूहरूसँग धेरै समय टिक्दैनन् भन्ने ।
यसबीचमा एमालेले सभामुख, उपसभामुख, लुम्बिनीका एक राष्ट्रिय सभा सदस्य, तीन प्रदेशमा मुख्यमन्त्री प्राप्त गर्न सफल भएको छ । उपसभामुख रास्वपाकी इन्दिरा राना भए पनि रास्वपा एमाले अध्यक्ष ओलीसँगै रहेकाले उनले भनेअनुसार नै चल्ने गर्छ ।
पुस १० गते प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाए एमालेलाई राष्ट्रपति र सभामुख दिने सहमति गरेको ओलीको दाबी छ । तर माओवादी केन्द्रले कुनै पनि हालतमा एमालेबाट राष्ट्रपति बनाउन नहुने अडान राखेकाले प्रचण्ड र ओलीबीच दुई महिनामै सम्बन्ध विच्छेदको अवस्थामा आइपुगेका हुन् । यदि आज पाँचदलीय गठबन्धन ब्यूँतेमा एमाले सरकारमै रहन्छ कि समर्थन फिर्ता लिन्छ भन्ने थाहा पाउन केही समय कुर्नैपर्ने हुन्छ ।