प्रचण्डसँग ढुक्क छैनन् ओली, गठबन्धन टुट्ने गरे संकेत

काठमाडौं । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्ट देखिएका छन् । पूर्वसहमतिअनुसार आफ्नो पार्टीलाई राष्ट्रपतिमा समर्थन नगरेकामा ओली असन्तुष्ट छन् । सोही कारण ओलीले ४ मंसिरको चुनावी परिणामसँगै एमाले–माओवादीबीच बनेको गठबन्धन टुट्न लागेको संकेत गरेका छन् ।

सरकारले फागुन १ गतेको ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रूपमा मनाएकोमा असन्तुष्टि सार्वजनिक गरेर ओलीले एमाले–माओवादी गठबन्धन टुट्न लागेको र कांग्रेस नेतृत्वको पुरानै गठबन्धन ब्युँतिन सक्ने संकेत गरेका हुन् । आफ्नो ७२औँ जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्व शान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा उनले सरकारको यो मानसिकताबाट मुलुकमा अझै पनि हिंसाको मानसिकता र हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिएको उल्लेख गरे ।

प्रधानमन्त्री एवं माओवादी अध्यक्ष प्रचण्डप्रति संकेत गर्दै ओलीले हिंसाको बाटो छोडेर शान्तिप्रक्रियामा आइसकेपछि किन फेरि हिंसाको महिमामण्डन गर्नुपर्‍यो भन्दै प्रश्न गरे । ‘त्यो हिंसाको धङधङी के देखिन्छ भने अहिलेकै सरकारले पनि हिंसा दिवसलाई राष्ट्रिय दिवस भनेर मनाएर त्यसलाई राष्ट्रिय दिवस मनाउने भनेर क्यालेन्डरमा राख्नेसमेत दुःखद निर्णय ग¥यो । त्यसले हिंसाको मानसिकता, हिंसाप्रति गर्व गर्ने प्रवृत्ति नछुटेको देखिन्छ, जुन कुरा सही होइन । आफैँले त्यो बाटो छोडेर शान्तिप्रक्रियामा आइसकेपछि किन फेरि त्यसको महिमामण्डन गर्नुपर्‍यो ? त्यो मैले पनि बुझेको छैन । यसले सम्झी–सम्झीकन हिंसाप्रतिको पुरानो लगाव सम्झिएजस्तो मात्रै लाग्छ मलाई । जेहोस्, नेपाल हिंसाको पक्षमा हुन सक्दैन ।

नेपाली जनतामा परस्परमा लड्ने–लडाउने कुरालाई स्वीकार गर्न सकिँदैन । हिजो पनि सकिँदैन थियो, आज पनि सकिँदैन र भोलि पनि सम्भव छैन,’ ओलीले भने । सरकारले बिदा दिएको ११ दिनपछि होसमा आएका ओलीको यो फायरलाई धेरैले गठबन्धन टुट्न लागेको आकलन गरेका हुन् ।

माओवादीले आफ्नो दललाई समर्थन नगर्ने देखेपछि एमालेले मनोनयन दर्ताको दिन शनिबार बिहान मात्रै राष्ट्रपतिको उम्मेदवार टुंग्याउने भएको छ । प्रधानमन्त्री प्रचण्डसमक्ष एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको नाम लगेका केपी ओलीले शनिबार बिहान राष्ट्रपतिको उम्मेदवार टुंग्याउन सचिवालय बैठक राखेका हुन् ।

प्रधानमन्त्री प्रचण्डलाई नेपालको नाममा राष्ट्रिय सहमति जुटाउने गरी नाम दिएपछि ओली राष्ट्रपतिको उम्मेदवार टुंगो लगाउने छलफल र भेटघाटमा सक्रिय छैनन् । नेपाल पुरानो गठबन्धन (कांग्रेससहित्र) ब्युँताउन सहमत नभए शनिबार बिहानको बैठकबाट उनकै नाममा निर्णय गर्ने तयारीमा ओली रहेको निकट स्रोतले बतायो । यस्तो अवस्थामा माओवादी पनि नेपाललाई राष्ट्रपतिमा स्विकार्न बाध्य हुने उनको बुझाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *