पल शाहले उच्च अदालत पोखराबाट पाए सफाइ, भोलि नै जेलमुक्त हुने

काठमाडौँ । नाबालिका यौन दूरुपयोगको मुद्दामा दोषी ठहर हुँदै कारगारमा रहेका अभिनेता पल शाहले उच्च अदालत पोखराबाट सफाइ पाएका छन् । यससँगै उनी भोलि नै तनहुँ कारागारबाट छुट्ने पलका वकिल कमलामोहन वाग्लेले बताएका छन्।

उच्च अदालतका न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासबाट उनले सफाइ पाएका हुन्। उच्च अदालतले सफाइ दिएको पत्र नवलपुर जिल्ला अदालतलाई पठाउनेछ। त्यसपछि जिल्ला अदालतले कारागारलाई पत्र लेखेपछि उनी जेलमुक्त हुनेछन् ।

उच्च अदालत पोखराका रजिस्ट्रार श्रीलाल पौडेलले पनि पललाई सफाइ मिलेको जानकारी दिए । तनहुँको मुद्दामा जिल्लाबाटै पलले सफाइ पाइसकेका छन्। पौडेलका अनुसार त्यसउपर सरकारी वकिलले अपिल गरिसकेका छैनन्।

जिल्ला अदालतको आदेशविरुद्ध पल उच्च अदालत गएका थिए । आइतवार सुनुवाइ सकिएसँगै उच्च अदालतले पलको मुद्दामा अभियोग दाबी नपुग्ने ठहर गरेको हो ।

जिल्ला अदालत नवलपुरले जबरजस्ती करणीको मुद्दामा पल शाहलाई सफाइ दिएको थियो । तर बाल यौन दुरुपयोग गरेको ठहर गर्दै उनलाई साढे २ वर्ष कैदको फैसला गरेपछि त्यसविरुद्ध पल उच्च अदालत गएका थिए ।पलले आफूलाई सफाइ दिन माग गरेका थिए ।

यस्तै, सरकारी वकिल कार्यालयले भने पललाई जबरजस्ती करणीको मुद्दामा सफाइ दिन नमिल्ने दाबी गर्दै पुनरावेदन गरेको थियो । दुवै पक्षको पुनरावेदनपछि उच्च अदालतले आज फैसला गरेको हो। उच्चले पललाई सफाइ दिएपछि उनी छुट्न लागेका हुन् ।

२०७८ फागुन ११ गते पलविरुद्ध सुरुमा जिल्ला अदालत तनहुँमा जाहेरी परेको थियो । त्यसको चार दिनपछि जिल्ला प्रहरी कार्यालय तनहुँमा पल शाहले आत्मसमर्पण गरेका थिए ।

पछि नवलपुर जिल्लामा पनि जाहेरी परेको थियो। तर ती दुवै अदातलमा पछि गएर पीडित भनिएकी नाबालिग गायिका होस्टायल भएकी थिइन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *