एमालेका मन्त्रीले बुझाए सामूहिक राजीनामा
काठमाडौं । नेकपा एमालेका मन्त्रीहरूले प्रधानमन्त्री पुष्पकमल दाहाललाई सामूहिक राजीनामा बुझाएका छन् ।
एमालेका आठ मन्त्रीले सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।एमालेको सोमबार बसेको सचिवालय बैठकले सरकारबाट बाहिरिने र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय गरेको थियो ।
दाहाल मन्त्रिपरिषद्मा एमालेबाट विष्णु पौडेलको नेतृत्वमा आठ जना सहभागी थिए । पौडेल उपप्रधानमन्त्री तथा अर्थमन्त्री थिए । ज्वालाकुमारी साह कृषि तथा पशुपक्षी विकास, दामोदर भण्डारी उद्योग, वाणिज्य तथा आपूर्ति, राजेन्द्रकुमार राई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, विमला राई पौड्याल परराष्ट्र, पदम गिरी स्वास्थ्य तथा जनसंख्या, भगवती चौधरी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक र हरिप्रसाद उप्रेती रक्षामन्त्री थिए ।
राष्ट्रपति निर्वाचनमा सरकारको नेतृत्व गरिरहेको माओवादीले कांग्रेससँग सहकार्य गरेपछि एमाले सरकारबाट बाहिरिएको हो ।