सप्तरीमा स्कारपियो र बोलेरो जीप ठोक्किँदा दुईको मृत्यु, १२ जना घाइते
सप्तरी । सप्तरीको रुपनगरमा मंगलबार बिहान भएको सवारी दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । उक्त दुर्घटनामा १२ जना घाइते भएका छन् ।
पूर्व-पश्चिम सडक खण्ड अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका वडा नम्बर – ९ रुपनगर खण्डमा स्कारपियो र बोलेरो एक आपसमा ठक्कर खाएर उक्त दुर्घटना भएको हो ।
दुर्घटनामा परी स्कारपियोमा सवार रहेका सुनसरीका दुहबी नगरपालिका – ३ की ४५ वर्षीया राजकुमारी चौधरी र ४० वर्षीय राम साह हलुवाईको दुर्घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा १८ च ६६१७ नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश २–०२–००१ च ०७४६ नम्बरको घोडा लोड रहेको बोलेरो बिहान २ बजेर ४० मिनेटमा आपसमा ठक्किएका थियो । सोही दुर्घटनामा परी एउटा घोडाको पनि मृत्यु भएको छ ।
१२ जना घाइतेको विराटनगरस्थित विभिन्न अस्पतालमा उपचार भइरहेको सप्तरीका प्रहरी उपरीक्षक नरेन्द्र कार्कीले जानकारी दिए । यता मृतकको शवलाई पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल राजविराज लगिएको छ ।
यसैगरी पूर्व-पश्चिम सडक अन्तर्गत सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-३ पोर्ताहा खण्डमा गएराति भारतीय कारको ठक्करले एक जना पैदल यात्रुको मृत्यु भएको छ । पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको जीजे १०–बिजी–८१३३ नम्बरको कारले नाम नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष पैदल यात्रीलाई ठक्कर दिंदा उनको मृत्यु भएको हो । प्रहरीले कार चालकलाई नियन्त्रणमा लिएको छ ।