कुमाल समुदायको पेशा लोप हुँदै
काठमाडौं । दुःख गरेर माटोका भाँडा वर्तन बनाउँदै आएका यहाँका कुमाल समुदायको मुख्य पेशा लोप हुँदै गएको छ ।
सीप र परिश्रमअनुसार ज्याला नउठ्ने भएपछि माटाका भाँडा बनाउँदै आएका कुमाल जातिको पेशा हराउँदै गएको हो । वि.सं २०४२/४३ बाट कुश्मामा प्लास्टिकका भाँडा भित्रिएसँगै स्थानीय बजारमा माटाका भाँडा बनाएर जीविकोपार्जन गर्दै आएका कुमाल जातिले विकल्प खोज्न थालेका हुन् ।
उनीहरुले विकल्प खोजेसँगै माटाका भाँडामा कुमालले भर्ने कलात्मक बुट्टा लगायतका सिर्जनात्मक सीपसमेत लोप हुँदै गएको हो । जीजुबाजेका पालादेखि वि.सं २०४२/४३ सम्म माटोका हुण्डा, घैँटो, गलौंसा, आरी, ठेकी, दियो, पाला, भुड्का लगायतका भाँडाकुडा बनाउँदै आएका कुश्मा नगरपालिका–८ निवासी छविलाल कुमाल, चन्द्रकोटे कुमाल, बमबहादुर कुमाल र दुर्गाबहादुर कुमाल यतिबेला छैनन।
उनीहरुसंगै माटाका भाँडा बनाउने गरेका ९० वर्षका बुधे कुमाल भने हालसम्म जीवितै रहेका छन । उनीहरुको सीप र कला नयाँ पुस्ताले जीवित राख्ने कुरामा भने शङ्का गर्ने ठाउँ उब्जिएका छन् । परिश्रम धेरै गर्नुपर्ने तर परिश्रमअनुसारको मूल्य नपाइने भएकाले बाउबाजेको पेशा धान्न मुस्किल परेको छविलालका छोरा भीमबहादुरले बताए ।
माटाका भाँडा बनाउन माझमेलाबाट ल्याएको कालो चाम्रो माटो, खरेहा फलाम खानीको रातो माटो र कालीगण्डकीबाट ल्याएको बालुवा मुछेर, कुटेर चाम्रो बनाइ थमारेर औँडी बनाइ पोल्ने गरिन्थ्यो, औँडीका लागि सुकेका दाउरा, गुईंठा, हाडेउन्यू समेतको जोहो गर्नुपर्ने हुन्छ”, कुश्मा–८ निवासी ८० वर्षीय चन्द्रबहादुर कुमालले भने , “अहिलेको पुस्ताले यस्तो दुःख गर्न छाडिसकेका छन् ।”
उनका अनुसार तत्कालीन समयमा कुमालले बनाएका माटाका भाँडा भोटबाट आएका भोटेले बास बसेर किनेर लग्ने गर्दथे । माटाका भाँडा स्थानीय गाउँघरमा केही मात्रामा बिक्री भए पनि ठूलो बजार भने भोटबाट आउने भोटेले नै गर्दथे ।
परिवारको सङ्ख्या बढेसँगै माटाका भाँडा बनाएर जीविकोपार्जन गर्न कठिन हुने भएकाले पछिल्लो पुस्ताले यसको विकल्प रोज्न थालेपछि यो पेशा झनै सङ्कटमा परेको भीमबहादुरले बताए ।
तत्कालीन समयमा कुश्मेली कुमालको जग्गा–जमिन प्रशस्त भएको र आकर्षक कमाइ अन्य पेशाबाट हुने भएकाले उनीहरु यो पेशाप्रति लालायित हुन नसकेको उनले बताए । पछिल्लो समय वैदेशिक रोजगारप्रति स्थानीय कुमाल समुदाय आकर्षित हुँदै गएकाले भाँडा बनाउने पेशासँगै उनीहरुको सीप, कला पनि लोप हुँदै गएको हो ।