नाइजेरियामा अपहरणमा परेका १४ जनाको उद्धार

लागोस । नाइजेरियाको उत्तरी राज्य कादुनामा अपहरणमा परेका १४ जनाको उद्धार गरिएको छ । सो राज्यका सशस्त्र समूहले १४ जना सर्वसाधारण नागरिकलाई अपहरण गरी लगेका थिए ।

बन्दक बनाएर राखिएको अवस्थामा उनीहरुलाई नाइजेरियाली सुरक्षा फौजले उद्धार गरेको समाचारमा जनाइएको हो । कादुना क्षेत्रमा नाइजेरियाका बोको हराम आतङ्ककारी समूहको प्रभाव रहेको बताइएको छ । ती १४ जनालाई पनि उनीहरुले नै अपहरण गरेर बन्दक बनाएका प्रहरीको भनाई छ ।

सो क्षेत्रमा नाइजेरियाली संयुक्त सुरक्षा फौजले केही महिनादेखि सशक्त कारबाही अघि बढाएको छ । त्यसै क्रममा उनीहरुलाई अपहरणमुक्त गरेको बताइएको छ ।नाइजेरियाको कादुना राज्यका प्रहरी प्रमुखले सो कुराको जानकारी दिएका छन् ।

उनले ती १४ जनालाई कहिले उद्धार गरिएको हो भन्ने बारेमा भने जानकारी दिएका छैनन् । उनीहरुको उद्धारका क्रममा भएको सुरक्षा कारबाहीमा परेर एकजना अपहरणकारीको ज्यान गएको र अरु केही भागेको उनले जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *