भारतका भित्रिया ओली सरकारबाट हटे लगत्तै विरोधमा
काठमाडौं । एमालेका अध्यक्ष केपी ओली भारतका भित्रिया नेताका रूपमा परिचित छन् । प्रधानमन्त्री हुँदा ओलीले ‘रअ’ का सामन्त गोयललाई मध्यरातमा बालुवाटारमा बोलाएर भेटघाट गरेका थिए । जसकारण तत्कालीन नेकपामा विवाद उत्पन्न भएको थियो । सोही विवाद बढ्दै जाँदा पार्टी मात्र फुटेन, ओलीले पद नै गुमाउन पुगेको थियो ।
ओली अधिकांश भारतीय नेताका रोजाइमा पर्छन् । भारतबाट धेरै अनुदान सहयोग ल्याएर विकास आयोजना आफ्ना जिल्लामा पार्नेमा ओली पनि पर्छन् । तर अहिले तिनै ओली भारतको खुंखार विरोधी भएर निस्किएका छन् । चीनको तारिफ गर्दै ओलीले भारतको विरोध सुरु गर्न थालेका छन् । मिडियामा आएका एकपक्षीय समाचारका आधारमा अहिले ओली सरकार र त्यसमा आबद्ध दलका नेताको विरोधमा लागेका छन् ।
हिजो सरकारमा रहँदा भारतविरुद्ध चुइँक्क नबोल्ने ओली अहिले सरकारबाट हटेलगत्तै भारतको विरोध गर्न थालेका छन् । एमाले सरकारमै रहेका बेला भारतबाट आयातित तरकारीमा विषादी परीक्षण गरिएको थिएन । तर अहिले विषादी परीक्षण नगरेको भनेर सरकारको विरोध थालेका छन् । शनिबार आयोजित एक कार्यक्रममा ओलीले भारतको धुँवाधार विरोध गरे । उनले प्रधानमन्त्री प्रचण्डको पनि उछितो काढे ।
ओलीले प्रधानमन्त्री प्रचण्डले इण्डो–अमेरिकन योजना स्विकारेर मित्रराष्ट्र चीनविरूद्ध गद्दारी गरेको आरोप लगाए । स्थानीय तह कर्मचारी संघ, नेपालले शनिबार एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको कार्यक्रममा उनले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर प्रचण्डले चीनविरुद्ध गद्दारी गरेको र मुलुकलाई विदेशीहरुको खेलमैदान बनाउन चाहेको गम्भीर आरोप लगाए ।
ओलीले मुस्ताङमा रहेको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनिएको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको दाबी गरे । ‘विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ ? विश्वविद्यालयको नाममा अर्थोक नै गर्न खोजेको हो । विदेशीहरुको खेल मैदान बनाउन खोजेको हो । त्यहाँको युरेनियम, त्यसमा ध्यान दिएको हो,जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय । भनेको त्यो खास उद्देश्यका पेड मान्छेहरु मात्रै बस्छन् त्यहाँ । र, यो एउटा बुहतै खतरनाक कुरा हो,’ उनले हो । तर सरकारले यो विषयमा खण्डन गरिसकेको छ । त्यहाँ विश्वविद्यालय खोल्न कुनै प्रस्ताव नगरेको स्पष्ट पारिसकेको छ ।