निशा अधिकारीले हालिन् पति विरुद्ध अंशवण्डाको मुद्दा
काठमाडौं । अभिनेत्री निशा अधिकारीले काठमाडौं जिल्ला अदालतमा पति शरद भेषवाकरविरुद्ध दायर गरेको अंशवण्डाको मुद्दामा अदालतले सम्पत्तिको फाँटबारी माग गर्न आदेश दिएको छ । अदालतको वेबसाइटमा उल्लेख भएअनुसार न्यायाधीश कमलप्रसाद ज्ञवालीको इजलासले उक्त आदेश दिएको हो । नाबालक छोरासमेतलाई अंशभाग लगाउनुपर्ने माग गर्दै निशाले पति शरदविरुद्ध मुद्दा हालेकी हुन् । निशाले गत भदौ २८ गते अंश चलनको मुद्दा दायर गरेकी थिइन् । २०७४ सालमा यी दुईले विवाह गरेका थिए । विवाहअघि यी दुईजना प्रेम सम्बन्धमा थिए । २०७५ सालमा अमेरिकामा पुगेर निशाले छोरालाई जन्म दिएकी थिइन् । यतिबेला दुवै जना नेपालमा बस्दै आएका छन् । निशा फिल्म करिअरमा व्यस्त छिन् । शरद भने राष्ट्रिय टिममा समावेश नभएका कारण फुर्सदमा छन् ।