राप्रपालाई राष्ट्रपतिको निर्वाचनमा खुल्न आज आचारसंहिताले रोक्ने
काठमाडौं । संघीय संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुमध्ये अहिलेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपा, हाम्रो नेपाली पार्टी र संघीय समाजवादी पार्टीले राष्ट्रपतिमा कसलाई भोट हाल्ने भन्ने निर्णय गरिसकेका छैनन् ।
राष्ट्रपति निर्वाचनबारे के गर्ने भन्ने निर्णय लिन संसदको पाँचौं शक्ति राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बुधबार बस्दै छ । दिउँसो १ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने बैठकमा राष्ट्रपति निर्वाचनबारे छलफल हुने छ । संघीय संसदमा राप्रपाका १४ र प्रदेश सभामा २८ सांसद छन् । राष्ट्रपति निर्वाचनमा उसको कूल मतभार दुई हजार ४५० छ ।
अहिलेसम्म राप्रपाका नेताहरु पौडेल र नेम्वाङमध्ये कतै खुलेका छैनन् । राप्रपामा राष्ट्रपति निर्वाचनमा तटस्थ बस्नुपर्ने आवाज उठेको छ । तटस्थ बस्नुपर्छ भन्ने पक्षमा ज्ञानेन्द्र शाहीलगायतका नेताहरु छन् ।
रास्वपाले बिहीबार मात्र निर्णय गर्ने भएको छ । सोमबार राति १२ बजेसम्म राष्ट्रपति निर्वाचनका लागि रामचन्द्र पौडेल वा सुवासचन्द्र नेम्वाङ कसलाई मत दिने भनेर निर्णय नगरेकाले अब आचार संहिता लागू भइसकेकोले निर्णय गर्न बाधा हुने भएको छ। राष्ट्रपति निर्वाचनका लागि गत फागुन १७ गतेबाटै निर्वाचन आचारसंहिता लागू भएकाले कुनै उम्मेदवारको पक्षमा खुल्न भने पाइने छैन । यी दलहरुमध्ये केही पहिलेको गठबन्धनमा भएको र अहिले स्वतन्त्र भएकाले पनि निर्णय गर्न नसकेका हुन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आचारसंहिता लागु भइसकेकाले राजनीतिक दलले पक्षधरता देखाउन नपाउने बताएका छन । त्यसैले आज राष्ट्रिय प्रजातन्त्र पार्टीलाई पनि निर्णय लिन समस्या हुने देखिएको छ । यही समस्या देखेर होला रास्वपाले भोलि मतदानका बेला मात्र निर्णय गर्ने भएको छ । बिहीबार बिहान ११ देखि दिउँसो ३ बजेसम्म राष्ट्रपतिको निर्वाचनका लागि मतदानको समय तोकिएको छ ।