प्रधानमन्त्री प्रचण्डको मुद्दाको सुनुवाइ सकियो,मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुने
काठमाडौँ । प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको रिटको सुनुवाइ सकिएको छ ।
शुक्रबार न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा भएको सुनुवाइ सकिएको हो ।
उनी विरुद्धको सुनुवाइ सकिएपनि आदेश भने आउन बाँकी छ ।
बिहीबार उक्त मुद्दा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा पेसी तोकिए पनि उनको एकल इजलास नबस्दा शुक्रबारका लागि सुनुवाइ सारिएको थियो ।
०७३ साल माघ १ गते काठमाडौँको टुँडिखेलमा आयोजित एक कार्यक्रममा प्रचण्डले द्वन्द्वकालीन समयमा मारिएका पाँच हजार जनाको जिम्मेवारी आफूले लिने बताएका थिए ।
उक्त अभिव्यक्तिबमोजिम उनीमाथि छानबिन तथा अभियोजन हुनुपर्ने माग गर्दै ज्ञानेन्द्रराज आरण, कल्याण बुढाथोकीलगायतले सर्वोच्चमा रिट दायर गरेका हुन् । यसअघि, उनीहरूको रिट अदालत प्रशासनबाट दरपीठ भएको थियो । न्यायाधीश द्वय ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले दर पिटको आदेश शुक्रबार बदर गरेको थियो । दरपीठ आदेश बदर भएसँगै गएको मंगलबार प्रचण्ड विरुद्ध अदालतमा रिट दर्ता भएको हो ।
आदेशपछि प्रधानमन्त्री प्रचण्ड विरुद्धको मुद्दा अघि बढ्ने वा नबढ्नेबारे निर्णय हुनेछ ।