राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम वाचन गर्दा राप्रपाले के गर्ला ?

काठमाडौं । पूर्वपञ्चहरूको पार्टी राप्रपाले राष्ट्रपति निर्वाचनमा भाग लिएन । राजतन्त्र पुनःस्थापनाको मुद्दा लिएर निर्वाचनमा गएको राप्रपाले राष्ट्रपतिका दुई उम्मेदवार रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङमध्ये दुवैलाई भोट दिएन । हिजो राष्ट्रपति विद्यादेवी भण्डारीबाट मन्त्रीको शपथ लिएका राप्रपाका नेताहरूले यसपटक न त राष्ट्रपतिलाई मत दियो, न राष्ट्रपति विजयी भएकालाई शुभकामना र बधाई नै दिन आवश्यक ठान्यो ।

नवनिर्वाचित राष्ट्रपति पौडेलले सोमबार पद तथा गोपनीयताको शपथ लिँदैछन् । शपथ लिएपछि उनी भोलि नै शीतल निवासमा सर्नेछन् । अबको पाँच वर्षसम्म पौडेल नै राष्ट्रप्रमुख बन्नेछन् । जेठमा राष्ट्रपति पौडेलले संघीय संसदका दुवै सदनलाई सम्बोधन गर्नेछन् । उनले सरकारका नीति तथा कार्यक्रम वाचन गर्नेछन् । अब राष्ट्रपतिको निर्वाचन नै बहिष्कार गरेको राप्रपाका सांसदहरू संसद् बैठकमा बस्छन् कि बहिष्कार गरेर हिँड्लान् भन्ने चासो देखिएको छ ।

पौडेल र नेम्वाङ दुवै राजनीतिक व्यक्तित्व भएकाले निष्पक्ष भूमिका निर्वाह गर्न नसक्ने ठहर गर्दै राप्रपाले राष्ट्रपति निर्वाचनमा तठस्थ बसेको बहाना बनाएको छ । हिजो त्यही राजनीतिक व्यक्तित्व विद्यादेवी भण्डारीलाई भोट हालेर जिताएको राप्रपाले आज पौडेल र नेम्वाङलाई निष्पक्ष नदेख्नु काइततर्क भएको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

पार्टीमा देखिएको असन्तुष्टि मत्थर पार्न मात्र अध्यक्ष राजेन्द्र लिङ्देनले राष्ट्रपति निर्वाचन बहिष्कार गरेको छर्लंग छ । त्यति मात्र होइन, एमाले उम्मेदवार नेम्वाङले जित्ने अवस्था भएको भए राप्रपाले भोट एमालेलाई नै हाल्ने निश्चित थियो । तर पार्टीमा रवीन्द्र मिश्र, ज्ञानेन्द्र शाही, बुद्धिमान तामाङहरूको असन्तुष्टि थामथुम पार्न लिङ्देनले जुन बहिष्कारको निर्णय लिए, यसले आगामी दिनमा राप्रपामा राजनीतिक कर्नरमा पर्ने निश्चित छ ।
राष्ट्रपति निर्वाचन भनेको अन्य निर्वाचन जस्तो होइन ।

देशको साझा व्यक्तित्वको चुनावमा भाग नलिँदा आगामी दिनमा ठूला राजनीतिक दलले कस्तो व्यवहार गर्लान् भन्ने सामान्य हेक्कासमेत राप्रपाले राखेको देखिएन । भोलि राप्रपाले राष्ट्रप्रमुख पौडेलसँग कुन आधारमा भेटघाट गर्ला ? कसरी आफ्नो राजनीतिलाई अघि बढाउला ? भन्ने चासोसमेत देखिएको छ । तर आगामी वर्षको सरकारको नीति तथा कार्यक्रम नै राप्रपाका लागि परीक्षाको विषय बन्ने निश्चित छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *