एमालेको राजनीतिमा फर्किन भण्डारीले राज्यको कुनै सेवासुविधा लिन्नँ भनेकी हुन् ?
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुईचोटि गरी साढे सात वर्ष शीतल निवासमा बिताइन् । यसबीचमा उनको भूमिकाबारे धेरै प्रश्न उठे । उनले आफूलाई एमालेको एक कार्यकर्ता भन्दा अलग राख्न सकिनन् । भलै राष्ट्रपतिमा निर्वाचित भएलगत्तै उनले एमालेको साधारण सदस्यसमेत किन छाडेकी नहुन् । सरकारले ल्याएका अध्यादेश, संसद् विघटन, नेकपाकालीन समयमा नेताहरूसँग सम्बन्ध विस्तारलगायतका कारण उनको भूमिकामाथि प्रश्न चिन्ह खडा भएको हो ।
राष्ट्रपति बन्ने बेला उनी एमालेको उपाध्यक्षमा थिइन् । उनका पति मदन भण्डारीको नाममा रहेको ‘मदन भण्डारी फाउन्डेसन’ का नाममा भण्डारीले राजनीति गर्दै आएकी छन् । फाउन्डेसनको अध्यक्षमा उनकै जेठी छोरी उषाकिरण भण्डारी छिन् । फाउन्डेसनको शक्ति कतिसम्म छ भने माओवादी केन्द्रको पार्टी जति उसकै संगठन रहेको छ । त्यसैले पनि एमाले अध्यक्ष केपी ओली भए पनि पार्टी सञ्चालन शीतल निवासबाटै हुने गरेको एमाले नेता कार्यकर्ता नै बताउँछन् ।
राष्ट्रपतिबाट बाहिरिएलगत्तै अहिले भण्डारी फेरि राजनीतिमा फर्कन सक्ने आशयका समाचार आउने गरेका छन् । विदेशमा राष्ट्रपति भइसकेका व्यक्ति पुनः राजनीतिमा आएका छन् । नेपालमा पनि राजनीति गर्न संविधानले छेक्दैन । तर राजनीति गर्नुअघि उसले राज्यले दिने सेवासुविधा त्याग गर्न सक्नुपर्छ । राजनीतिमा फर्किने कि नफर्किनेमा भण्डारीको इच्छामा भर पर्छ । निर्णय गर्न उनी स्वतन्त्र हुनुहुन्छ ।
भण्डारीका राजनीतिक सल्लाहकार लालबाबु यादवले जनताको चाहना र आवश्यकताअनुसार भण्डारीले विचार गर्ने बताउँछन् । अवकाशपछि राज्यको कुनै पनि सेवासुविधा लिन्न भनिसकेकाले भण्डारी राजनीतिमा फर्कन सक्ने उनले संकेत गरे । राज्यको सुविधा नलिएपछि स्वतन्त्र नागरिकका रूपमा निर्णय गर्न पनि स्वतन्त्र नै हुने भएकाले समय–परिस्थितिअनुसार भण्डारीले निर्णय लिने उनले बताए ।
एमालेमा केपी ओलीपछि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसहित सबै पदाधिकारीले भण्डारीलाई अभिभावककै रूपमा सम्मान गर्ने गर्छन् । पार्टीभित्रका प्रभावशाली नेताहरू विष्णु पौडेल, भीम रावल, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई, गोकर्ण विष्टलगायतसँग पनि भण्डारीको व्यक्तिगत सम्बन्ध राम्रो छ ।
भण्डारीसँगको सम्बन्धका कारण पनि भट्टराई पार्टी फुट्दा एमालेमै रोकिएको एकाथरीको बुझाइ छ । तर, एमालेका यिनै नेताहरूबीच एघारौँ महाधिवेशनमा अध्यक्ष र महासचिवका लागि अहिल्यैदेखि अघोषित प्रतिस्पर्धा सुरु भइसकेको छ । खासगरी उपाध्यक्ष पौडेल र महासचिव पोखरेलले अघोषित रूपमा समूह खडा गरिसकेका छन् । भण्डारीले जसलाई साथ दियो उही नै अध्यक्ष हुने बताइन्छ । तर, भण्डारी राजनीतिमा फर्किन् भने उनी ओलीपछि एमालेको अध्यक्ष सर्वसम्मत बन्ने बताइन्छ ।