पोखरा नयाँ नयाँ उडान गन्तव्यमा जोडिँदै

काठमाडौं । हवाई मार्गबाट देशका ठूला सहरसँग पोखरा जोडिएको छ । वायुसेवा प्रदायक कम्पनीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सङ्घीय राजधानी काठमाडौँसहित पाँच गन्तव्यमा आन्तरिक उडान गर्दै आएका छन् ।

हाल पोखरालाई काठमाडौँ, भरतपुर, भैरहवा, नेपालगञ्ज र भद्रपुरसँग हवाई सञ्जालले जोडेको छ । कोभिड–१९ महामारी जस्ता कारणबाट बन्द उडान सेवा पनि पुनः सञ्चालन गर्ने तयारीमा हवाई सेवा कम्पनी छन् ।

यसअघि पोखराबाट धनगढी, विराटनगर, सिमरा र जनकपुरमा पनि सिधा उडान हुँदै आएको थियो । हवाई यात्रुको आउजाउ घटेपछि ती गन्तव्यमा उडान सेवा रोकिएको थियो । पर्यटकीय गतिविधि पूर्ववत् स्थितिमा फर्कन थालेसँगै पोखरा आउने यात्रुको चाप बढ्ने विश्वास लिइएको छ ।

आन्तरिकसँगै विदेशी पर्यटकको आवागमनलाई लक्ष्य गरी सीमा क्षेत्र नजिकका सहरसँग पोखराको हवाई सम्पर्क स्थापित गरिएको हो । गत साता मात्रै निजी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पोखरा–भद्रपुर सिधा उडान सुरु गरेको थियो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले पोखराको पर्यटनमा आशलाग्दो अवस्था देखिएको बताए । “म आफैँ काठमाडौँदेखि फर्कंदा जहाजमा झन्डै आधा यात्रु विदेशी देखेँ, यो हाम्रा लागि सुखद खबर हो”, उनले भने । विमानस्थल प्रमुख गौतमले पर्यटकको चापलाई हेरेर विमान कम्पनीले उडान थपघट गर्ने बताए । “यात्रु नपाए एयरलाइन्सले सेवा विस्तार गर्ने कुरा हुँदैन, पर्यटक बढे उडान थपिन्छ, नयाँ गन्तव्य पनि विस्तार हुन्छ”, उनले भने ।

पछिल्लो समय आन्तरिक हवाई यात्रुको सङ्ख्या पनि बढ्दो छ । कोभिडकालदेखि सुरक्षित यात्राका लागि पनि कतिपयले हवाई मार्ग रोज्न थालेका हुन् । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीले हवाई सञ्जाल विस्तारले पोखराको पर्यटनमा महत्वपूर्ण टेवा पुग्ने बताए । “हवाई मार्गबाट नयाँनयाँ गन्तव्यमा पोखरा जोडिनु भनेको पोखराको पर्यटन उकासिनु हो”, उनले भने , “केही महँगो परे पनि छिटो र सहज यात्राका लागि पर्यटकले हवाई मार्ग रोज्छन्, पोखरा हवाई यात्राका लागि सुरक्षित छ भन्ने सन्देश दिनुपर्छ ।”

अध्यक्ष अधिकारीले ‘नाट्टा’कै पहलमा पोखराबाट विभिन्न प्रदेशका सहरसम्म हवाई उडान सुरु गरिएको बताए । “कोभिडलगायत कारणले केही ठाउँमा नियमित हुन सकेको छैन, पर्यटक चाप हुन थालेपछि विमान कम्पनीले फेरि उडान सुरु गर्छन्”, उनले भने । पोखरामा भारतीय र चिनियाँ पर्यटक बढी आउँछन् । चीनले कोभिड–१९ महामारी थामिएपछि हालै गन्तव्य देशका रुपमा नेपाललाई राखेको छ । चीनको सो निर्णयबाट पोखरा घुम्न आउने चिनियाँ पर्यटक बढ्ने अपेक्षा लिइएको छ । भद्रपुर, जनकपुर, सिमरालगायत सीमा छेउका सहरबाट सिधा उडान हुँदा भारतीय पर्यटक सहज रुपमा पोखरा भित्रने व्यवसायी बताउँछन् ।
“सडक यातायातबाट घण्टौँ लाग्ने गन्तव्यमा हवाई मार्गबाट केही छिनमै पुग्न सकिने अवस्था छ, नेपालको बाटोघाटो पनि त्यति स्तरीय छैन”, नाट्टा गण्डकीका अध्यक्ष अधिकारीले भने , “पोखराबाट देशका मुख्य गन्तव्यसम्म नियमित उडान सेवाको सुनिश्चितता गर्नुपर्छ, यसमा राज्यको पनि सोच र योजना चाहिन्छ ।”

बुद्ध एयरका स्टेसन म्यानेजर गौतम बरालले धनगढीलगायत ठाउँमा पुनः उडान थाल्ने तयारी भए पनि आधिकारिक जानकारी नआएको बताए । “अहिले बुद्ध एयरले पोखराबाट पाँच सहरमा उडान गर्दै आएको छ, यात्रुको माग भए अन्यत्र पनि सेवा विस्तार हुँदै जान्छ”, उनले भने ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी विष्णु अधिकारीले पोखराबाट हालै रात्रिकालीन उडान पनि सुरु भएको जानकारी दिए । उनका अनुसार बुद्ध एयरले काठमाडौँ, भद्रपुर, भैरहवा र नेपालगञ्जबाट पोखरामा रात्रिकालीन उडान भर्न थालेको हो । चारै गन्तव्यबाट आएका जहाजले पोखरामा रात्रि विश्राम गर्ने र भोलिपल्ट सम्बन्धित गन्तव्यमा फर्कने गरेको विमानस्थलका अधिकारीको भनाइ छ । रात्रिकालीन उडान सेवाले पोखराको पर्यटन र अर्थतन्त्रको उत्थानमा टेवा पुग्ने विश्वास लिइएको छ ।

उक्त विमानस्थलमा गत फागुन ११ गते इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर प्रणाली लागू भएसँगै रात्रीकालीन उडान सुरु भएको हो । गएको अङ्ग्रेजी नयाँ वर्षका दिन उद्घाटन गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तरदेशीय उडान भने अझै सुरु हुन सकेको छैन ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *