राष्ट्रिय प्रजातन्त्र पार्टी उपराष्ट्रपति निर्वाचनमा पनि तठस्थ बस्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी उपराष्ट्रपति निर्वाचनमा पनि तठस्थ बस्ने भएको छ । बुधबार अध्यक्ष राजेन्द्र लिङ्देनको अध्यक्षतामा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यस्तो निर्णय गरेको हो । यसअघि राप्रपा राष्ट्रपति निर्वाचनमा पनि तठस्थ बसेको थियो । राप्रपामा राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा कसैलाई मत दिन नहुने बहुमत छ ।
राप्रपा कार्यसम्पादन समिति बैठकले किसानले रासायनिक मलमा पाउँदै आएको अनुदान घटाउने र मूल्यवृद्धि गर्ने निर्णय अदूरदर्शी, अमानवीय र अनुचित भएको ठहर गर्दै यो निर्णय तत्काल फिर्ता लिन, सुलभ ढंगले समयमै मल आपुर्तिको व्यवस्था मिलाउन र मल आपूर्ति समस्याको दीर्घकालीन समाधानका लागि देशभित्रै मल कारखाना स्थापनाको प्रक्रिया प्रारम्भ गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
रासायनिक मल सम्बन्धमा पार्टीको ७७ वटै जिल्ला समितिले एक हप्ताभित्र प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई ज्ञापनपत्र बुझाउने, धर्ना दिने र सभा गर्ने निर्णय गररेको छ ।
राप्रपाले बैंक तथा वित्तीय संस्थाहरुले ऋणीहरुसँग उठाइरहेको ब्याजदर तत्काल नियन्त्रण गर्न, अस्वाभाविक रुपमा बढेको ब्याज घटाउन र देशमा वित्तीय सन्तुलन कायम राख्न सरकारको ध्यानाकर्षण गराएको छ। साथै बैंकको ब्याजदरकै विषयमा आन्दोलनरत व्यवसायीहरुको माग तत्काल सम्बोधनका लागि पनि माग गरेको छ ।