घनश्याम भुसाल बने एकीकृत समाजवादीको महासचिव
काठमाडौं । एकीकृत समाजवादीले घनश्याम भुसाललाई महासचिव बनाउने निर्णय गरेको छ । आइतबार पार्टी कार्यालय शान्तिनगरमा बसेको केन्द्रीय सचिवालयले घनश्यामलाई महासचिव र महासचिव डा.बेदुराम भुसाललाई उपाध्यक्ष बनाउने निर्णय गरेको हो ।
एमाले छाडेर स्वतन्त्र बस्दै आएका घनश्याम केही समयअघि मात्र एकीकृत समाजवादीमा प्रवेश गरेका थिए । उनलाई केन्द्रीय सदस्य मात्र बनाइएको थियो । कुनै जिम्मेवारी दिइएको थिएन । आइतबार बसेको बैठकले भने भुसाललाई कम्युनिस्ट पार्टीमा शक्तिशाली मानिने महासचिव बनाउने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
एमाले विवादका बेला घनश्यामलाई ‘१० भाइ’ मध्ये एक मानिन्थ्यो । उनी एमालेको १०औं महाधिवेशनमा महासचिवमा उठेका थिए । तर पराजित बने । मंसिर ४ गतेको निर्वाचनमा एमालेले उनलाई टिकट नदिएपछि भुसालले रुपन्देही १ बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । उनी झिनो मतान्तरले चुनावमा पराजित भए । भुसाललाई नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीसहितको समर्थन थियो ।
एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने निर्णयसमेत गरेको छ । प्रतिनिधिसभामा एकीकृत समाजवादीका १० सांसद छन् । एकीकृत समाजवादी सरकारमा समेत सहभागी हुँदैछ ।