आईजिपी नियुक्तिमा प्रचण्ड विवादमा नपर्ने, कुँवरको सम्भावना धेरै
काठमाडौं । नेपाल प्रहरीमा आईजिपी नियुक्ति सधैं विवादमा पर्ने गरेको छ । सरकारको नेतृत्व गर्ने वा गृहमन्त्री जुन दलको छ, उही दल निकट आईजिपी बन्ने गरेका छन् । तर, यसपटक माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री छन् । उनले नै गृह मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् । प्रचण्डले जसलाई चाह्यो उही नै आईजिपी बन्ने अवस्था छ । अर्थात् प्रधानमन्त्री अहिले सर्वेसर्वा छन् ।
३० वर्षे सेवाहदको प्रावधान हेरफेर नभएमा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह र उनका ब्याचका प्रहरी अधिकृतहरूले शुक्रबारदेखि अनिवार्य अवकाश पाउनेछन् । त्यो अवस्थामा सोमबार मात्र बढुवा भएका पाँच एआइजीमध्येबाट एक आइजिपी हुनेछन् । सबैले शक्तिकेन्द्रमा आ–आफ्नोतर्फबाट लबिइङ गरे पनि विगतमा जस्तो आइजी बन्न अस्वस्थ प्रतिस्पर्धा चलेको देखिन्न ।
सोमबारको मन्त्रिपरिषद् बैठकले बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई एआइजीमा बढुवा गरेको थियो । आइजिपी नियिुक्तिमा प्रधानमन्त्री प्रचण्डले कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि छलफल गरिरहेको बुझिएको छ । एक नम्बरमा एआइजी भएकाले कुँवरको सम्भावना बढी छ । सत्ता गठबन्धनको प्रमुख दल नेपाली कांग्रेस भएकाले आइजिपी नियुक्तिमा कांग्रेसको पनि भूमिका हुने निश्चित छ । पहिलो नम्बरमा रहेका कुँवर कांग्रेसनिकट भनेर चिनिन्छन् । कांग्रेसले कुँवरलाई नै अघि सारेमा उनको सम्भावना धेरै रहेको बताइन्छ ।
तर, यसअघि विश्वराज पोखरेलले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले आइजिपी नियुक्तिको अधिकार सरकारको भएकाले सिनियरमध्येबाट जसलाई पनि रोज्न सक्ने फैसला गरेको छ । जसआधारमा अन्य चारजनाको सम्भावना पनि उत्तिकै छ । प्रतिस्पर्धीमध्ये एआइजी दिपक थापा प्रधानमन्त्री प्रचण्डनिकट मानिन्छन् । यद्यपि, थापा पछि पनि आइजिपी हुन सक्ने भएकाले अन्य चारजनामध्येबाट बढुवा गर्नेबारे छलफल भइरहेको बुझिएको छ ।