‘जातीय छुवाछूत प्रथा अन्त्यका लागि सबै लाग्नुपर्छु’
काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जातिभेद, रङगभेद तथा छुवाछूतको अमानवीय प्रथालाई समाजिकरुपमा अन्त्य गर्नका लागि सबैले आ–आफ्नो ठाउँबाट सक्रिय रहन आग्रह गरेका छन ।
आज ५८औा अन्तर्राष्ट्रिय जातिभेद उन्मुलन दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले जातिय छुवाछूत तोड्नका लागि समाजका सबै तप्काबाट जागरण अभियान चलाउन आवश्यक रहेको बताए ।
“कानूनरुपमा बर्जित भएपनि छुवाछूत जस्तो अमानवीय प्रथा पूर्णरुपमा अन्त्य हुनसकेको छैन । यसलाई तोडनका लागि समाजका सवै तप्काबाट जागरण अभियान चलाउनु आवश्यक रहेको छ”, उनीद्वारा जारी सन्देशमा भनिएको छ । उनले पार्टीले मानवअधिकार र सामाजिक न्यायलाई आफ्नो सैद्धान्तिक निष्ठाका रुपमा आत्मसात गरेको समेत बताएका छन ।
अध्यक्ष ओलीले एमाले जात, जाति, वर्ग, वर्ण, लिङ्ग, धर्म, सस्कृतिलगायतका आधारमा गरिने विभेद र शोषणको विरुद्ध लड्दै आएको पार्टी रहेको उल्लेख गर्दै एमालेको सरकारले छुवाछूतबाट पीडित र प्रताडितको आर्थिक सवलिकरण र समाजिक मर्यादाका लागि नीतिगत सुधारमा नेतृत्वदायी भूमिका खेलेको बताएका छन ।
“आवासविहीन दलित र भूमिहिनका लागि आवास र भूमिको व्यवस्था गर्ने काम एमालेको सरकारले अघि बढाएको थियो”, सन्देशमा उनले भनेका छन , “समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न जातीय आधारमा हुने सबै प्रकारका विभेद, कुरीति, अन्धविश्वास अपराध, बहिष्करण, बञ्चितिकरण र हिंसा अन्त्य गर्नुपर्दछ ।”
त्यसैगरी नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मानव सभ्यता विकासका लागि जातीय विभेद र छुवाछूत बाधक रहेकाले यस्ता विकृतिका अन्त्य गर्नुपर्ने बताएका छन ।
अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसका सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै अध्यक्ष नेपालले छुवाछूत र जातीय हिंसाविरुद्ध सबै एकजुट भएर सामाजिक न्याय, समानता, स्वतन्त्रताका माध्यमबाट शान्तिपूर्ण र सहअस्तित्वको समाज निर्माण हुने उल्लेख गरेका छन ।
उक्त सन्देशमा शिष्ट र सभ्य समाज निर्माणका लागि जातीय हिंसा, छुवाछूतजस्ता विसङ्गतिको अन्त्य गर्नुपर्नेमा जोड दिइएको छ । नेपाली समाजलाई यस्ता हिंसा र विभेदबाट मुक्त गरी समानता कायम गर्न आफ्नो पार्टीले लामो समयदेखि राजनीतिक गतिविधि गरेको भन्दै जातीय हिंसालगायत विकृतिविरूद्ध चेतनामूलक अभियानको खाँचो औँल्याइएको छ ।
संयक्त राष्ट्रसङ्घले सन् १९६५ मा जातीय विभेद उन्मूलनसम्बन्धी महासन्धि पारित गरी जाति तथा रङ्गभेद उन्मूलन दिवसका रूपमा मनाउने घोषणा गरेको थियो । सो महासन्धिलाई सन् १९७१ मा मात्रै नेपालले अनुमोदन गरेको थियो । यो दिवस भने सन् १९६६ देखि प्रत्येक वर्ष मार्च २१ तारिखमा मनाउने गरिन्छ ।