राष्ट्रपतिको औपचारिक समारोहमा सामान्य सवारी
काठमाडौं । घोडेजात्राको अवसरमा सैनिक मञ्च टुँडिखेलमा भएको कार्यक्रममा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेलले औपचारिक समारोहमा सामान्य शैलीको सवारी प्रयोग गरेका छन् । गृह मन्त्रालयले बनाएको विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि, २०७७ अनुसार राष्ट्रपतिको औपचारिक समारोहको सवारीमा १६ वटा सवारीसाधन प्रयोग हुन्थ्यो । तर, मंगलबार भएको राष्ट्रपति पौडेलको औपचारिक समारोहमा चार वटा सवारी साधन प्रयोग भएको छ । राष्ट्रपति पौडेलले एउटा अगुवा, पछुवा र जगेडा गाडी मात्रै प्रयोग गरे । जबकि, कार्यविधिमा प्रहरी वार्निङ मोटरसाइकल, अगुवा जिप, अति विशिष्ट व्यक्ति सुरक्षा निरीक्षक अगुवा कारदेखि पछाडि रहने राष्ट्रपतिको गाडीको दायाँ बायाँसहित ३ ३ गरी ६ वटा आउट राइडर्स हुने व्यवस्था छ । त्यसको पछाडि अति विशिष्ट व्यक्ति सुरक्षा निरीक्षण पछुवा कार, जगेडा कार, प्रहरी अतिरिक्त महानिरीक्षकको कार, एम्बुलेन्स, प्रहरी पछुवा जिप र प्रहरी पछुवा मोटरसाइकलसहित सवारी साधन हुने व्यवस्था छ । तर पौडेलको मंगलबारका सवारीमा एउटा अगुवा, त्यसपछि क्रमशः आफ्नो गाडी, पछुवा र जगेडा गाडी प्रयोग गरेको देखिएको छ । पौडेल शीतल निवासबाट टुँडिखेलस्थित सैनिक मञ्च आउँदा सडक पनि पूरा खाली गराइएको थिएन । सैनिक मञ्चको कार्यक्रम सकिएर राष्ट्रपति बाहिरिँदा केहीबेर मात्र सडक खाली गराइएको थियो । उनको सवारी अगाडि बढेपछि अन्य सवारी साधनलाई आवतजावत गर्न दिइएको थियो । राष्ट्रपति पौडेलको सवारीअघि राष्ट्रपति कार्यालयले यसको व्यवस्थापनका लागि गृह मन्त्रालयसँग परामर्श गरेको थियो ।
विगतमा राष्ट्रपतिको सवारी निकै तामझामपूर्ण भएको र सर्वसाधारणलाई हिँडडुलमा रोक लगाएको भन्दै आलोचना हुने गरेको थियो । विशिष्ट व्यक्ति सुरक्षा कार्यविधि अनुसार राष्ट्रपति दैनिक कार्यालय जाँदा समेत मंगलबारको सवारीभन्दा एउटा कार र मोटरसाइकल बढी प्रयोग गर्नुपर्ने हुन्छ । गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले भीआईपी सुरक्षा कार्यविधि समेत परिवर्तन गर्न लागिएको बताए । ‘यो कार्यविधि संशोधन गर्नका लागि प्रस्ताव गरिए बमोजिम भएको सवारी हो, ‘उपत्यकाभित्रको आवगमनलाई असर नपर्ने गरी सवारी सहज बनाउने गरी संशोधन गर्ने प्रस्ताव गरेका छौं । यद्यपि, पहिले भएको व्यवस्था पनि नहटाइने उनले बताए । ‘कतिपय राजकीय भ्रमण वा विदेशी पाहुना आउँदा आवश्यक पर्नसक्छ, त्यसैले अरु व्यवस्था पनि यथावत राखेर कतिपयमा घटाउन सक्ने प्रावधान राख्न लागेका छौं । यसअघि गत शनिबार राष्ट्रपति पौडेल बसन्तपुरस्थित कुमारी घर जाँदा पनि सडक खाली नगराई गएका थिए ।