प्रकाशमान र शेखरमध्ये एकले कांग्रेसबाट नेतृत्व गर्ने, यी हुन् मन्त्रीको दौडमा रहेका नेता

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य डा.शेखर कोइराला र प्रकाशमान सिंहमध्ये एकजनाको नेतृत्वमा सरकारमा पठाउने तयारी गरेको छ । उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले सरकारमा नजाने घोषणा गरिसकेकाले सिंह र कोइरालामध्ये एकको नेतृत्वमा पार्टीलाई सरकारमा पठाउने गृहकार्यमा सभापति शेरबहादुर देउवा जुटेको धुम्बाराही स्रोतले जनाएको छ ।

कोइरालाले परराष्ट्र मन्त्रालयमा दाबी गरेका छन् । २०७४ सालमा पनि कोइराला परराष्ट्रमन्त्री बन्ने अन्तिम तयारीमा थिए । तर, तत्कालीन प्रधानमन्त्री देउवाले प्रकाशशरण महतलाई मन्त्री बनाएका थिए । तर सिंह गएमा कुन मन्त्रालय लिन्छन् भन्ने टुंगो छैन ।

कांग्रेसमा डा.प्रकाशशरण महत, उदयशमशेर राणा वा विनोद चौधरीको नाम अर्थमन्त्रीमा चर्चामा छ । देशको अर्थतन्त्र बिग्रेकाले सक्षम अर्थमन्त्रीको खोजीमा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा लागिपरेका छन् । अर्थमन्त्रीमा कांग्रेस महामन्त्री थापालाई देख्न चाहनेको संख्या पनि धेरै छ । देउवा पत्नी आरजु राणाले पनि मन्त्री बन्ने चाहना व्यक्त गरेकी छन् । केही समयअघि आफू तत्काल मन्त्री नबन्ने बताएकी आरजुले ऊर्जा मन्त्रालयमा दाबी गरेको बुझिएको छ ।

कांग्रेसले सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने एनपी साउदलाई मन्त्री बनाउने भएको छ । गृहमा दाबी गर्दै आएका साउदले उद्योग मन्त्रालय पाउने बताइन्छ । कांग्रेस केन्द्रीय सदस्य डा.शशांक कोइरालाले भने आफूलाई कृषिमन्त्री बनाउन सभापति देउवासँग लबिङ गरेको बुझिएको छ । अहिलेसम्म मन्त्री नभएका शशांक प्रचण्ड सरकारमै जाने भएका छन् ।

तर प्रकाशमान सिंहले नेतृत्व गरेमा के गर्ने भन्ने उनले निर्णय गरिसकेका छैनन् । स्रोतका अनुसार शशांक अहिले मन्त्री नभए देउवाले नेतृत्व गरेको सरकारमा सहभागी हुन सक्नेछन् । देउवा नेतृत्वको सरकारमा सहभागी हुन नेता विमलेन्द्र निधि पनि तयार रहेको बुझिएको छ ।

बागमती प्रदेशबाट उदयशमशेर राणा र मोहनबहादुर बस्नेतमध्ये एकजना मन्त्री बन्ने बुझिएको छ । दुवै देउवा निकट नेता हुन् । उदयशमशेर अर्थमन्त्री भएमा बस्नेत मन्त्री बन्न पाउने छैनन् ।पहिलोचोटि सांसद बनेका प्रदीप पौडेललाई मन्त्री बनाउन महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले लबिङ गरिरहेको स्रोतले बतायो । पछिल्लो समय पौडेल थापा र शर्मा निकट छन् । पौडेललाई स्वास्थ्यमन्त्री बनाउने तयारी छ । शेखर पक्षका सहमहामन्त्री जीवन परियार पनि मन्त्री बन्ने सूचीमा छन् ।

कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौरले पनि मन्त्रीको दाबी गरिरहेका छन् । सभापति देउवा भने विनोद चौधरी र राठौरमध्ये एकलाई मन्त्री बनाउने मनस्थितिमा रहेको बुझिएको छ । कोसी प्रदेशबाट सीता गुरुङ र डिगबहादुर लिम्बूमध्ये एकजना मन्त्री कन्फर्म रहेको बताइन्छ । मधेस प्रदेशबाट तेजुलाल चौधरी र अजय चौरासियामध्ये एकजना मन्त्री बन्ने भएका छन् ।

काठमाडौंका राजन केसी, सन्तोष चालिसे, मोरङका डा.सुनील शर्मा, गोरखाका राजेन्द्र बजगाईं र भक्तपुरका दुर्लभ थापा पनि मन्त्रीका लागि दौडमा लागेका छन् । मन्त्री बनाइदिनुपर्यो भन्दै अहिले देउवा निवास धुम्बाराहीमा नेताहरुको भिड लागेको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *