वैदेशिक रोजगारीमा रहनेका लागि सामाजिक सुरक्षामा उल्लेख गरिएका सुविधा के के छन् ?

काठमडौं । सामाजिक सुरक्षा कोषले वैदेशिक रोेजगारीमा जाने र विदेशमा गएर स्वरोजगार बनेका नागरिकका लागि नयाँ सुविधा दिन लागेको छ । बुधबारबाट सो क्षेत्रमा रहेका नागरिकको हित हुने उद्देश्यले सामाजिक सुरक्षा कोष जारी गर्न लागिएको कोषले जनाएको छ ।

सामाजिक सुरक्षा कोषका प्रवक्ता विवेक पन्थीका अनुसार सामाजिक सुरक्षा कोष आजैबाट लागू हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार कार्यक्रमको सुरुवात गरे । कोष लागू भएसँगै वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध हुने मौका मिल्ने छ । योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने उद्देश्यका साथै नागरिकको आर्थिक सुरक्षामा समेत राहत पुग्ने कोषले विश्वास लिएको छ । सामाजिक सुरक्षा कोष लागू भएपछि रोजगारीका लागि बाहिरिएका लाखौं नागरिकले राहत महसुस गर्ने पन्थीको भनाइ छ ।

आज देखि नयाँ श्रम स्वीकृति लिनेलाई कोषमा सूचीकृत हुने व्यवस्था अनिवार्य गरिएको छ । हाल दैनिक करिब दुई हजारजनाले श्रम स्वीकृति लिँदै आएका छन् । श्रम स्वीकृति लिनेले कोषमा एक महिनाको योगदान रकम जम्मा गर्नुपर्नेछ । वैदेशिक रोजगारीमा जाने श्रमिकले ६ महिनाको योगदान रकम जम्मा गर्दा १० प्रतिशत छुट पाउँछन् । श्रमिकले कोषको वेबसाइटबाट सूचीकरण गरी योगदान रकम जम्मा गर्न सक्नेछन् ।

स्वीकृत कार्यविधिबमोजिम वैदेशिक रोजगारीमा रहेका वा विदेशमा स्वरोजगार रहेका श्रमिकले कम्तीमा आधारभूत पारिश्रमिकको २१ दशमलव ३३ प्रतिशत रकम अर्थात् न्यूनतम दुई हजार मासिक रूपमा र अधिकतम त्यसको तीन गुणासम्म कोषमा योगदान गरी सुविधामा सहभागी हुन सक्नेछन् ।

कोषमा हालसम्म औपचारिक क्षेत्रका तीन लाख ९९ हजार पाँच सय ६६ श्रमिक आबद्ध भइसकेका छन् । कोषमा ३० अर्ब ८७ करोड योगदान रकम संकलन भएको छ । कोषले योगदानकर्तालाई तीन अर्ब ८१ करोड दाबी भुक्तानी गरेको छ । २०७५ मंसिर ११ गतेदेखि योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनमा आएको प्रवक्ता पन्थीले जानकारी दिए ।

वैदेशिक रोजगारीमा रहेका वा जानेले न्यूनतम दुई हजारदेखि अधिकतम २८ हजार एक सय ५५ रुपैयाँसम्म कोषमा योगदान गर्नुपर्छ । योगदान गर्नेलाई एक लाख रुपैयाँसम्मको वार्षिक दुर्घटना उपचार खर्च, पाँच हजार ६ सय ३१ रुपैयाँसम्म अशक्तता पेन्सन आश्रित परिवारलाई तीन हजार सात सय ५४ रुपैयाँसम्म आजीवन पेन्सन, २१ वर्षसम्म सन्ततिलाई तीन हजार सात सय ५४ रुपैयाँसम्मको शैक्षिक वृत्तिबापत रकम पाउनेछन् । वैदेशिक रोजगार समय अवधि सकिएपछि एकमुस्टमा ६० वर्षपछि आजीवन पेन्सन पाइने छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *