प्रभु बैंकद्वारा प्रसादी एकेडेमीका विद्यार्थीलाई बैंकिङ साक्षरता
काठमाडौं । प्रभु बैंक लिमिटेडले ‘ग्लोबल मनी वीक’ कार्यक्रम अन्तर्गत विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको छ । ललितपुरको प्रसादी एकेडेमीमा कक्षा ११ मा अध्ययनरत १ सय जना विद्यार्थीलाई बैंकिङ साक्षरता प्रदान गरेको बैंकले जनाएको छ । उनीहरुलाई बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा अवलोकन भ्रमण गराउनुको साथै बैंकिङ साक्षरता प्रदान गरिएको थियो । विद्यार्थीलाई ४ वटा समूहमा विभाजन गरेर बैंकको प्रधान कार्यालयको अवलोकन गराउनुको साथै बैंकबाट सञ्चालन,सम्पादन हुने विभिन्न क्रियाकलापहरुको बारेमा जानकारी गराइएको थियो । उनीहरुलाई बैंकको प्रधान कार्यालय बबरमहल अन्तर्गतका विभिन्न विभागको स्थलगत अवलोकन र विभागीय प्रमुखहरुसँग साक्षात्कार समेत गराइएको प्रभु बैंकका सिनियर नायब प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेले बताए । प्रभु बैंकका नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेलले बैंकले सम्पादन गर्ने कामका बारेमा विद्यार्थीलाई जानकारी गराएका थिए । त्यस अवसरमा विद्यार्थीलाई कापी, कलम लगायत शैक्षिक सामग्री समेत प्रदान गरिएको थियो ।