एमाले निकट विवादास्पद ज्ञवालीलाई आईजिपी बनाउने तयारी, कांग्रेसको असन्तुष्टि

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जे बाहिर बोल्छन्, त्यो गर्दैनन् । नबोली नबोली आफ्ना काम फत्ते गर्छन् । संयुक्त सरकार बन्ने अवस्थामा सरकारले गर्ने धेरै राजनीतिक नियुक्ति प्रचण्डले गरिसकेका छन् । माओवादीको भागमा परेकामा मन्त्रालय र मातहतका कार्यालयमा धमाधम माओवादी कार्यकर्ताको नियुक्ति भइरहेको छ ।

प्रचण्ड प्रधानमन्त्री भएकै बेला नेपाल प्रहरीको महानिरीक्षक खाली हुँदैछ । हालका महानिरीक्षक धीरजप्रताप सिंह आजैदेखि अनिवार्य अवकाशमा जाँदैछन्। उनले ३० वर्ष सेवा अवधि पूरा गरेका छन् । यदि ३० वर्षे उमेरहद हटाउन सकेको भए सिंह नै महानिरीक्षकमा कायमै रहिरहने थिए । तर, नेपाल प्रहरीको धेरै पहिलेदेखिको त्यो प्रयासले पूर्णता पाउन सकेको छैन ।
नेपाल प्रहरीमा शुक्रबार नयाँ महानिरीक्षक (आइजी) नियुक्त हुने भएका छन्।

आज अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद्‌ बैठकले आइजी नियुक्त गर्न लागेको हो। बिहीबार बस्ने नियमित बैठकमा आइजी नियुक्ति गर्ने भनिएपनि शुक्रबारका लागि सारिएको थियो। आइजीका लागि पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी) हरू प्रतिस्पर्धी छन्।

आईजीका लागि बसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य प्रतिस्पर्धी हुन्। बज्राचार्य आइजीको प्रतिस्पर्धामा हुने पहिलो महिला प्रहरी अधिकृत हुन्। पाँचजना एआइजीहरूमध्ये एकजना नेपाल प्रहरीको ३०औँ आइजीका लागि बढुवा हुनेछन्। आईजी बन्न पाँचैजनाले लबिइङ गरिरहेका छन् ।

तर एमाले निकट मानिने एआईजी ज्ञवाली महानिरीक्षक बन्ने आश्चर्य नहुने स्रोतले बतायो । जागिर खाँदा उमेर सच्याएर प्रहरी सेवामा प्रवेश गरेको भन्दै ज्ञवालीमाथि छानबिन गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।

ज्ञवालीलाई आईजी बनाउन केपी ओली, माधव नेपाललगायत कम्युनिस्ट नेताहरूले बालुवाटारलाई दबाब दिइरहेको बुझिएको छ । तर नेपाली कांग्रेसले भने विवादास्पद ज्ञवालीलाई आईजी नबनाउन प्रधानमन्त्री प्रचण्डलाई सल्लाह दिएको छ । ज्ञवाली प्रहरीमा अकूत सम्पत्ति आर्जन गर्ने प्रहरी अधिकृतमा पर्ने बुझिएको छ ।

एआईजी दीपक थापा प्रचण्ड निकट भए पनि उनको आईजी बन्ने सम्भावना अझै बाँकी रहेकाले कुँवरको सम्भावना धेरै रहेको स्रोतले बतायो ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *