राहुल गान्धीको लोकसभा सदस्यता खारेज
काठमाडौं । भारतीय कांग्रेसका नेता राहुल गान्धीको लोकसभा सदस्यता खारेज भएको छ । चार वर्ष पुरानो एक आपराधिक मानहानी मुद्दामा दुई वर्षको सजाय पाएको भोलिपल्ट लोकसभा सचिवालयले गान्धीको सांसद पद रद्द गरेको सूचना निकालेको छ । गान्धी केरलाको वाडनाड लोकसभा सिटमा निर्वाचित भएका थिए । भारतीय संविधानको धारा १०२ १ र जनप्रतिनिधित्व अधिनियम १९५१ अनुसार सजाय सुनाएकै दिन २३ मार्च २०२३ देखि उनको सांसद पद खारेज भएको सूचनामा उल्लेख छ । भारतीय संविधानको धारा १०२ १ र १९१ १ मा यदि संसद वा विधानसभाको कुनै सदस्य लाभको पदमा पुगे, मानसिक रुपमा अस्वस्थ भए वा वैध भारतीय नागरिक रहेनन् भने उसको सदस्यता रद्द हुन्छ । अयोग्यताको अर्को नियम संविधानको दशौं अनुसूचीमा छ, जसमा दलबदलका आधारमा सदस्यलाई अयोग्य ठहर गर्ने व्यवस्थामा छ । यसका साथै लोकसभा प्रतिनिधित्व अधिनियम १९५१ मा अपराधिक मामिलामा सजाय पाएका सांसद वा विधयकको सदस्यता रद्द गर्ने व्यवस्था छ ।
यसअघि बिहीबार सुरतको एक अदालतले आपराधिक मानहानी मुद्दामा राहुललाई २ वर्षको सजाय सुनाएको थियो । १५ हजार भारु जरिवाना तोकेको थियो । तर उनको सजाय ३० दिनका लागि स्थगित गरिएको थियो । अर्थात राहुलसँग अदालतले सुनाएको सजायविरुद्ध माथिल्लो अदालतमा अपील गर्ने समय एक महिना हुनेछ । २०१९ मा राहुलले मोदी थरबारे टिप्पणी गरेका थिए ।