माँ बगलामुखी उपभोक्ता सहकारीको १३ औ स्थापना दिवस सम्पन्न
ललितपुर । हाम्रो सहकारी, हाम्रो लगानी, हाम्रो क्रियाशिलता, हाम्रो भविष्य भन्ने मूल नाराका साथ १३ वर्ष अघि ललितपुरमा स्थापना भएको २०७९ मा जिल्ला कै उत्कृष्ट कारोवार गर्ने सहकारीको रुपमा सम्मानित माँ बगलामुखी उपभोक्ता सहकारी संस्था लिले लिटिल फलावर्स पब्लिक स्कूलको प्राङ्गणमा आज आफ्नो १३ औ स्थापना दिवस एक कार्यक्रमका बिच सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष अधिवक्ता लक्ष्मण महर्जनको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा राष्ट्रिय सहकारी बैक, लगनखेल, शाखाकी प्रमुख रमा घिमिरेले प्रमुख आतिथ्यता ग्रहण गर्नु भएको थियो । कार्यक्रममा संस्थाकी अवैतनिक दुत, मिस नेवाः २०७९, सलिना महर्जन सहित करिब ६०० भन्दा बढि शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि रमा घिमिरेले कुशल नेतृत्व, उत्कृष्ट व्यवस्थापन एवं पारदर्शि आर्थिक कारोवारका कारण नै संसारभर वित्तिय क्षेत्रमा हाल सृजना भई रहेको विषम परिस्थितिका बाबजुद पनि यस संस्थाले २०७९ मा जिल्ला कै उत्कृष्ट कारोवार गर्ने सहकारीको रुपमा सम्मानित हुन सफल भएकोमा समग्र सहकारी परिवारलाई बधाई तथा निरन्तरताको शुभकामना व्यक्त गर्नु भएको थियो ।
त्यसै गरि संस्थाका अध्यक्ष एवं सभापतिले १३ बर्ष अघि रोपेको सानो विउ झाँगिएर अहिले रुख हुने क्रममा रहेको र यहि रुखले आर्थिक खडेरीको यो मौसममा आफ्ना शेयर सदस्यहरुलाई छहारीको राहत दिन सक्ने भएको बताँउदै त्यसलाई सहकार्य र विश्वासको मलजलले हुर्काउन सहयोग गर्नु हुने सम्पुर्ण कर्मचारी, शेयरधनि, सरोकारवाला निकायहरु एवं सम्पूर्ण शुभेच्छुकहरुलाई धन्यवाद दिँदै यो अटुट विश्वासलाई कहिल्यै मर्न नदिनुका साथै भविष्यमा अझै आधुनिक गुणस्तरिय तथा विश्वसनिय सेवा सुविधा उपलब्ध गराउँदै जाने प्रतिबद्धता समेत व्यक्त गर्नु भएको थियो । आगामी दिनहरुमा समेत सहकारी संचालनका सन्दर्भमा सवै सरोकारवाला पक्षहरुबाट संस्थाको स्तरोन्नतिका लागि सबै किसिमको साथ सहयोग तथा मार्गदर्शनको अपेक्षा रहेको कुरा समेत व्यक्त गर्नु भएको थियो ।
संस्थाको पछिल्लो पटक प्रकाशित चैत्र महिना नौ महिनासम्म संस्थाको आर्थिक प्रतिवेदन अनुसार कुल शेयर पूँजी रु.३,५१,२०,२०० रहेको यस संस्थाको कुल सम्पत्ती रु.३९,८८,४१,०५६ भने कुल कर्जा लगानी रु.३०,२२,२९,१७९ र कुल निक्षेप रु.२२,९६,९०,७१४ रहेको छ । जगेडा तथा अन्य कोष गरि जम्मा रु.२,७६,११,६३०.९५ पुगेको यस संस्थाको तरलता वित्तिय क्षेत्रमा देखिएको चरम मन्दीका बिच पनि कुल निक्षेपको २०.१८ प्रतिशत रहेको संस्थाले जनाईएको छ ।