सलिकोको सीईओ क्षेत्रीलाई बीमा प्राधिकरणको स्वीकृति
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सीईओमा नियुक्त भएका चंकी क्षेत्रीले नेपाल बीमा प्राधिकरणको स्वीकृति पाएका छन् । प्राधिकरणले उनलाई आज सोमबार सलिकोको सीईओ बन्नको लागि स्वीकृति दिएको हो । यसअघि क्षेत्री साविकको सगरमाथा इन्स्योरेन्सको सीईओ थिए । साविकको सगरमाथा र लुम्बिनी जनरल एक आपसमा मर्ज भएसँगै बनेको सलिकोको सीईओमा क्षेत्रीलाई नियुक्त गरिएको थियो । मर्जपछि बनेको कम्पनीको नयाँ सञ्चालक समितिले गत फागुन २९ गते नै क्षेत्रीलाई सीईओमा नियुक्त गरेको थियो । उनको नियुक्तिसँगै स्वीकृतिको लागि प्राधिकरणमा पठाइएको थियो । जुन, करिब तीन सातापछि प्राधिकरणले स्वीकृति दिएको छ ।
यससँगै नवनियुक्त सीईओ क्षेत्रीले आगामी चार वर्षसम्म सलिकोको कार्यभार सम्हाल्ने छन् । क्षेत्रीसँग बीमा क्षेत्रमा दुई दशक भन्दाबढी समयको अनुभव छ । क्षेत्रीले साविकको सगरमाथा इन्स्योरेन्समा सीईओको रुपमा डेढ कार्यकाल बिताए । उक्त इन्स्योरेन्समा जानु पूर्व क्षेत्रीले ओरेन्टल इन्स्योरेन्स कम्पनी र युनाईटेड इन्स्योरेन्स कम्पनीमा कार्य अनुभव संगालेका थिए । साथै, क्षेत्री निर्जीवन बीमा कम्पनीका सीईओहरुको छाता संगठन नेपाल बीमक संघका अध्यक्ष समेत हुन् ।