मन्त्रीको भागबन्डा मिलेपनि मन्त्रालय बाँडफाँट बाँकी
काठमाडौं । सत्ता गठबन्धनका दलहरूबीच मन्त्रीको भागबन्डा मिलेको छ । तर, मन्त्रालयको बाँडफाँट भने मिलिसकेको छैन । मन्त्रीमा सिफारिस भएका एक नेताका अनुसार त्यसको अधिकार प्रधानमन्त्रीले आफूलाई दिन माग गरेका छन् । कसले कति मन्त्री पाउने भन्ने सहमति भयो तर कुन मन्त्रालय पाउने भन्ने सहमति अझै भएको छैन, मन्त्री सिफारिस भएका एक नेताले भने, प्रधानमन्त्रीले त्यो अधिकार मलाई दिनुस् भन्नुभयो । भोलि बिहान उहाँले भागबन्डा गरेर गठबन्धनका नेताहरूलाई सुनाउनुहुनेछ । उनले प्रधानमन्त्रीले गरेका निर्णय गठबन्धनका दललाई मान्य हुँदैन भनेर अहिले नै परिकल्पना नगर्न आग्रह गरे । प्रधानमन्त्रीले गरेको निर्णय गठबन्धनका दलले मान्न नसक्ने हुन्छ भनेर किन परिकल्पना गर्नुहुन्छ, प्रधानमन्त्रीको बाँडफाँट दलहरूलाई मान्य भएन भने के हुन्छ भन्ने प्रश्नमा उनले भने, उहाँले दलहरूको भावना समेटेर नै बाँडफाँट टुंग्याउनुहुनेछ ।