सहकारीकर्मी भद्र रुपमा प्रस्तुत हुँदा सरकारले टेरेन


काठमाण्डौं । राष्ट्रिय सहकारी महासंघकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्लले ऐनमा भएका विषय कार्यान्वयन नहुँदा सहकारी क्षेत्र बदनाम हुनु परेको बताएकी छिन् । महासंघद्वारा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मन्त्री, प्रधानमन्त्री र सहकारीका निकायले अभियानको माग नसुनेपछि सडक आन्दोलनमा जानु परेको उल्लेख गरिन् । दुईचार जनाले बोलेको आवाज सानो भयो भन्ने सरकारलाई लाग्छ भने सडक आन्दोलन समेत गर्न आफुहरु तयार रहेको उनले बताइन् । ‘मिटरव्याजीहरु माईतीघर मन्डलामा अनशन बसेपछि सरकारले क्याबिनेट मार्फत मिटरब्याजीलाई व्यवस्थित बनाउने भन्यो’, उनले भनिन ‘हामी सहकारीकर्मी भद्र रुपमा प्रस्तुत हुँदा सरकारले टेरेन । हामीले नियम संगत मागेका मागहरु पुरा नभए अब आन्दोलन रोकिँदैन । सहकारीका सञ्चालक र व्यवस्थापकहरुले सहकारीबाट ऋण लिएको भए सम्पत्ति बेचेर भए पनि पैसा तिर्न महासंघले भनेको उनले बताइन् । उहाँहरु सम्पति बेच्न तयार भएपनि विश्वमा आएको आर्थिक मन्दीका कारण सम्पत्ती बिक्री नहुँदा समस्यामा परेको उनको भनाई छ । अहिलेको अवस्थाबाट सहकारीलाई बचाई सकेपछि सहकारीहरुलाई सुशासनमा चलाउन महासंघले अगुवाई गर्ने उनले बताइन् । कोभिड १९ र त्यसपछि भएको रुस युक्रेन युद्धका कारण विश्वमा आएको मन्दीका कारण त्यसको प्रभाव नेपालको अर्थतन्त्रमा परेकाले व्यापार व्यवसाय मन्द हुँदा सदस्यले ऋण तिर्न नसक्दा अहिलेको परिस्थिति सृजना भएको उनको भनाई छ । सहकारीमा लगाइएको सन्दर्भ व्याजदर र संस्थाहरुले गरेको ऋणको किस्ता उठ्न नसक्दा सहकारीमा समस्या आएको उनको भनाई छ । रजिष्ट्रारले रचनात्मक भूमिका नखेलेकाले सन्दर्भ व्याजदर परिमार्जन गर्न नसकेको मल्ले बताइन् । सहकारीकर्मीको कारणले मात्र नभई नियमक निकायले कानुन कार्यान्वयनमा सहयोग नगर्दा अहिलेको परिस्थिति सिर्जना भएको मल्लले जानकारी दिईन । सरकार र सहकारीकर्मीको कम्जोरीलाई तुलनात्मक रुपमा प्रस्तुत गर्न आग्रह गर्दै उनले सहकारी बचाउन सबै पक्ष जिम्मेवार हुनुपर्नेमा जोड दिइन् । सहकारीको अनुगमन गर्न सरकारलाई उनको आग्रह छ । सहकारीलाई व्यवस्थित गर्न आफुहरु पनि तयार रहेको भन्दै उनले सहकारी प्रति विश्वास घटेकाले बचत फिर्ताको लाईन लागेको बताइन् । सबै सदस्य बचत फिर्ता माग्न आए कुनै संंस्थाले पनि दिन नसक्ने उनले प्रष्ट पारिन । ६६औं राष्ट्रिय सहकारी दिवसको संयोजक समेत रहेकी मल्लले चैत्र २० गते काठमाडौं उपत्यकाका सहकारीकर्मीहरुले आफ्ना मागहरु पुरा गर्न दवाव दिन र्यालीमा सहभागि हुन आग्रह गरिन् । राष्ट्रिय सहकारी महासंघले उपत्यकाका सहकारीकर्मीलाई माइतिघरमा भेला हुन आव्हान गरेको हो । महासंघले काठमाडौ, भक्तपुर र ललितपुरका सहकारीहरुलाई आफ्नो रुट अनुसार झाँकी, ब्यानर र प्लेकार्ड सहित प्रभातफेरी गर्दै माइतीघरमा भेला हुन भनेको छ ।
महासंघले काठमाडौं उपत्यका बाहेकका जिल्लाका सहकारी संघ संस्थाहरुले सहकारी दिवसका अवसरमा साताभर विविध कार्यक्रम गरी सहकारी महासंघलाई जानकारी दिन समेत आग्रह गरेको छ । नेपालमा हरेक वर्षको चैत्र २० गते सहकारी दिवस मनाइन्छ । महासंघले हरेक वर्ष सहकारी दिवसका अवसरमा वर्षभरीका लागि नारा तय गर्ने गरेको छ । यो वर्षका लागि ‘सहकारीको दीगोपना स्वनियम र सुशासन’ भन्ने थिम तय गरिएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *