उपेन्द्र यादव र रवि लामिछाने दुवैको जोड साझा उम्मेदवार बन्ने
काठमाडौं । बारा २ र चितवन २ मा आगामी वैशाख १० गते उपनिर्वाचन हुँदैछ । निर्वाचन प्रयोजनका लागि आगामी चैत २० गते उम्मेदवारको मनोनयन दर्ताको कार्यक्रम छ । तर अहिलेसम्म चितवन २ मा रवि लामिछाने मात्र उम्मेदवार बन्ने टुंगो लागेको छ । नेपाली कांग्रेस, एमाले, माओवादीले कुनै निर्णय गरिसकेका छैनन् ।
बारा २ मा त सिके राउत नेतृत्वको जनमत पार्टीले मात्र उम्मेदवार खोजेको छ । जहाँबाट जसपाका रामसहायप्रसाद यादव सांसदमा विजयी भएका थिए । अहिले उनी उपराष्ट्रपति छन् । बारा २ मा उम्मेदवार उठाउनकै लागि जनमतले माओवादीका शिवचन्द्र कुशवाहालाई भित्र्याएको छ । जसकारण संसद् छिर्ने दाउमा रहेका जसपाका अध्यक्ष उपेन्द्र यादवलाई ठूलो संकट आइलागेको छ । बारा २ मा कसलाई उठाउने भनेर कांग्रेस, एमाले, माओवादीले अझै निर्णय गरिसकेका छैनन् ।
चितवन २ बाट जितेर गएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको दोहोरो नागरिकताका कारण सांसद पद खारेज भएको थियो । मंसिर ४ गतेको निर्वाचनपछि बनेको सरकारमा ४२ दिन गृहमन्त्री बन्दा र त्यसपछि दोहोरो राहदानी प्रकरण सामसुम बनाउन रविले खेलेको खेलले उपनिर्वाचनमा उनी पहिले जस्तो बलियो देखिएका छैनन् ।
यसबीचमा नेपाली कांग्रेस पूरै शक्ति आर्जनमा लागेको छ । उसले चितवनकै स्थानीय नेता जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने तयारी गरेपछि रवि लामिछाने झस्किएका छन् । त्यही भएर अहिले उनी सरकारमा सामेल हुनुपरेमा नौदलीय गठबन्धनको साझा उम्मेदवार आफू हुनुपर्नेमा लबिङमा लागेका छन् । जबकि यसअघि उनको पार्टीले उपनिर्वाचनमा कसैसँग सहकार्य नगर्ने निर्णय गरिसकेको छ ।
उता, बारा २ मा पनि उस्तै हालत छ । सिके राउत र लोसपाका नेता राजेन्द्र महतो हात धोएर लागेपछि उपेन्द्र यादव आत्तिएका छन् । आफ्नो सम्भावित पराजयको डरले अहिले उपेन्द्र पनि आफू नै नौ दलबाट साझा उम्मेदवार बन्नुपर्ने उनको लबिङ छ । तर कांग्रेस, माओवादीले यसबारे निर्णय गरिसकेका छैनन् । कांग्रेसले राधेचन्द्र यादवलाई उम्मेदवार उठाउन सक्ने बुझिएको छ ।