कांग्रेस र माओवादीको एउटै मन्त्रालयमा दाबी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मन्त्रिपरिषद् विस्तारको अन्तिम तयारीमा छन् । तर, अझै मन्त्रालयको बाँडफाँट टुंगिएको छैन । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताको बैठक पनि निष्कर्षविहीन बनेको छ । योसँगै प्रधानमन्त्री प्रचण्ड चितवनतर्फ लागेका छन् । एक कार्यक्रमका लागि उनी चितवन गएका हुन् । गठबन्धनका प्रमुख दुई घटक नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच नै मन्त्रालयको बाँडफाँट मिल्न बाँकी रहेको एक नेताले जानकारी दिए । केही मन्त्रालयमा यी दुई दलकै दाबी छ । दुवै पार्टीले एउटै मन्त्रालयमा दाबी गर्दा निष्कर्ष निस्कन सकेको छैन । ती नेताका अनुसार नेकपा एकीकृत समाजवादीले पाउने मन्त्रालयको बाँडफाँट पनि टुंगिएको छैन । जनता समाजवादी पार्टी जसपाको समेत मन्त्रालय टुंगिन बाँकी रहेको ती नेताले बताए । माओवादी र कांग्रेसबीच मन्त्रालयबारे टुंगिएको छैन । दुई पार्टीको केही मन्त्रालयमा एउटैमा दाबी छ, जसपाको पनि मिल्न बाँकी छ । ती नेताका अनुसार पार्टीहरूले सरकारमा सहभागी हुने मन्त्रीको नाम दिए आजै नियुक्ति र शपथग्रहणको तयारी गरिएको छ । आज दलले मन्त्रीको नाम दिए आजै विस्तार र शपथको तयारी छ, ती नेताले भने । प्रधानमन्त्री चितवनबाट फर्किएपछि आजै दिउँसो २ बजे पुनः बैठक बस्ने जसपाका नेता राजेन्द्र श्रेष्ठले जानकारी दिए ।