चितवन २ मा कांग्रेसका जितनारायण र रास्वपाका रवि आमनेसामने
काठमाडौं । अन्ततः राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग चितवन २ मा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ भिड्ने भएका छन् । १० वैशाखमा हुने उपनिर्वाचनका लागि बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
चितवन २ मा कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठ पनि टिकटका आकांक्षी थिए । उनी मंसिर ४ गतेको निर्वाचनमा रवि लामिछानेसँग पराजित भएका थिए । तर यसपटक भने कांग्रेसले पार्टीकै चितवन पूर्वसभापति रहेका जितनारायणलाई टिकट दिने निर्णय गरेको हो ।
पार्टीले आफूलाई उम्मेदवार बनाउने निर्णय गरेपछि श्रेष्ठले मंसिर ४ को निर्वाचनको परिणाम उल्ट्याउने घोषणा गरेका छन् । पार्टी कार्यालय सानेपामा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले ४ मंसिरमा हावाहुरी आएको, तर अब त्यसलाई रोक्ने टिप्पणी गरे ।
कांग्रेस चितवनले क्षेत्र नम्बर २ मा यसअघि कारबाहीमा परेका पूर्वसभापति विकास कोइराला, जगन्नाथ पौडेललगायतमाथिको कारबाही फिर्ता गर्न सिफारिस गरिसकेको छ । कोइराला र पौडेलसँग कांग्रेस २० हजारभन्दा बढी पकेट मत रहेको बताइन्छ । यदि सो मत आफूतिर ताने र मंसिर ४ गते उमेश श्रेष्ठले पाएको मत यथावत् राखेमा जितनारायण श्रेष्ठले बाजी मार्ने प्रबल सम्भावना छ ।