कोशी प्रदेशसभा : राजधानी र नामकरणको प्रावधान हट्यो
काठमाडौं । लामो समयपछि कोशी प्रदेशको नामकरण भइसकेपछि अहिले कोशी प्रदेशसभा सञ्चालन नियमावलीको नयाँ मस्यौदामा प्रदेश नामकरणको प्रावधान हटाइएको छ । अघिल्लो प्रदेशसभाले प्रदेशसभा सञ्चालन नियमावलीको परिच्छेद १० को ५८ (क) र (ख)मा प्रदेशको राजधानी तथा नामकरणसम्बन्धी प्रावधान कायम रहेको थियो ।
हालको प्रदेशसभा सञ्चालन नियमावली मस्यौदा समितिले प्रदेशको राजधानी र नामकरणको विषय हटाइएको हो । तर अहिले जातियताका आधारमा पहिचानसहितको राजधानीको नामाकरण हुनुपर्ने भन्दै कोशी प्रदेशमा लामो समयदेखि आन्दोलन जारी छ ।
मस्यौदा समितिका संयोजक लिलाबल्लभ अधिकारीका अनुसार प्रदेशसभाले राजधानीको विषय र नामकरणको विषय टुङ्गो लगाइसकेको हुँदा सो प्रावधान हटाइएको हो । ‘प्रदेशसभाको अघिल्लो कार्यकालमै प्रदेशको राजधानी तोकिसकिएको र नामकरणको विषय पनि दोस्रो कार्यकालबाट टुङ्गो लागिसकेको हुनाले सोही प्रयोजनका लागि राखिएको प्रावधान हटाइएको उनले बताए । कोशी प्रदेशसभा सञ्चालन नियमावलीको ५८ (क्र्) र (ख)मा राजधानी र नामको विषयमा २३ वटा बुँदा उल्लेख थियो ।