शव ल्याउँदासमेत गरगहना छ कि भनेर एयरपोर्टमा फुटाइन्छ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले विद्यार्थीको दिवा खाजामा भ्रष्टाचार भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद ढकालले चितवनमा प्राथमिक तहका विद्यार्थीका लागि दिइने सरकारी खाजामा समेत भ्रष्टाचार भइरहेको बताएका हुन् ।

उनले भने, ‘भ्रष्टाचार यति संस्थागत भएछ कि गरिब चेपाङ बच्चाको दिवा खाजा लुट्छ । मेरो क्षेत्र (चितवन निर्वाचन क्षेत्र नम्बर १)को भिडियो देख्नुभएको थियो होला । गरिब कुपोषित चेपाङ बच्चाको दिवा खाजामा भ्रष्टाचार छ ।’ मुलुकमा सुशासनको थिति बसाल्नुपर्ने उनको भनाइ थियो ।

सांसद ढकालले देशमा भ्रष्टाचार संस्थागत भएको बताउँदै विमानस्थलमा विदेशबाट शव ल्याइएका बाकसमा समेत केही गरगहना छ कि भनेर लुट्नका लागि फुटाइने गरेको दावी गरे ।

उनले भने, ‘विदेशबाट शव ल्याउँदाखेरि शवको बाक्सा फोरिएको छ एयरपोर्टमा । केही सामान छ कि भनेर लुट्नलाई, ब्यागहरू फुटेको त जानकारी थियो । समाज कहाँ जाँदै छ ? समाज के बन्दै छ ? कारण के हो ? कारण भ्रष्टाचार । यसरी जरोसम्म पुगेछ कि शव बोकेको बाक्सा पनि एयरपोर्टमा फुट्छ । अचम्मको छ एयरपोर्ट यताबाट लागूऔषध स्क्रिनमा देख्दैन । लागूऔषध कतारमा पुग्छ ।’

देशको बढ्दो ऋण र युवा पलायनको विषयमा सरकारले जवाफ दिनुपर्ने उनको भनाइ छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *