१० दलले ल्याएको साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज हो ः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता साझेदार १० दलले ल्याएको साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज भएको बताएका छन् । बिहीबार सरकारको साझा न्यूनतम कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले सार्वजनिक भएको साझा न्यूनतम कार्यक्रममा अघिल्लो गठबन्धनले ल्याएको साझा न्यूनतम कार्यक्रमको राम्रा पक्षहरू व्यवस्थित र परिमार्जित भएर समावेश भएको जिकिर गरे । कार्यक्रमको ड्राफ्ट पढेर बुद्धिजीवी र केही नेताहरूले समेत प्रशंसा गरेको भन्दै यसको कार्यान्वयन अहिलेको अवाश्यकता भएको बताए ।
साथै उनले अन्तर्यमा हेर्दा साझा न्यूनतम कार्यक्रम राष्ट्रिय सहमतिको दस्ताबेज भएको जानकारी दिए । यो विकसित र परिमार्जन भएर आएको छ । १० दलको दिमाग मात्र होइन अघिल्लो सरकारमा भएका पार्टीका नेताहरूको पनि यसमा दिमाग छ, प्रधानमन्त्री प्रचण्डले भने, अन्त्यमा गएर हेर्दा यो राष्ट्रिय सहमतिको साझा न्यूनतम कार्यक्रम हो । यसलाई कार्यान्वयन गर्ने जिम्मेवारी सरकार राजनीतिक दल र कर्मचारीहरूको पनि हो । उनले जनताले वर्तमान गठबन्धन र सरकारबाट जनताले धेरै अपेक्षा राखेको बताए ।