संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई ‘फास्ट ट्रयाक’बाट अघि बढाउने प्रस्ताव


काठमाडौं । सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई ‘फास्ट ट्रयाक’बाट अघि बढाउने प्रस्ताव गरेको छ । प्रतिपक्ष दलले त्यसलाई अस्वीकार गरेको छ । शनिबार सिंहदरबारमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख तीन दलका शीर्ष नेताको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियाका बाँकी कामलाई छिटो सम्पन्न गर्नका लागि यस सम्बन्धी कानुनलाई फास्ट ट्रयाकबाट अघि बढाउन प्रस्ताव गरेका थिए ।
तर, प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यस विषयमा विस्तृत छलफल आवश्यक हुने भन्दै समितिबाटै अघि बढाउनु पर्नेमा जोड दिए । बैठकपछि प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी, संवैधानिक परिषद् र सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकलाई छिटो टुंगो लगाउने विषयमा छलफल भएको बताए । उनले आफूहरूले फास्ट ट्रयाकबाट अघि बढाउन भनेको र प्रतिपक्षले समितिमा लैजानुपर्नेमा जोड दिएको जानकारी दिए । यस्तै, एमाले अध्यक्ष केपी शर्मा ओलीले संसद्लाई सहज रूपमा अघि बढाउनेलगायत विषयमा सकारात्मक रूपमा कुराकानी भएको जानकारी दिए ।उनले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक फास्ट ट्रयाकभन्दा पनि समितिमा लैजानुपर्ने बताए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सकारात्मक छलफल भएको जानकारी दिए । सभामुख घिमिरेले नेताहरूबीच सबै विषयमा सहमति खोज्नका लागि छलफल भएको बताए । उनले सबै विषयमा सकारात्मक छलफल भएको बताए । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई अघि बढाउने विषयमा यही चैत २८ गते पुनः बैठक बस्ने नेताहरूले जनाएका छन् ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *