प्रचण्ड हिँड्नलाई विमानस्थलमै बिछ्याइयो ‘रेड कार्पेट’
काठमाडौं । सामान्यतया ‘रेड कार्पेट’ विदेशको राजकीय भ्रमणमा राष्ट्र प्रमुख वा सरकार प्रमुखलाई सम्मान दिनका लागि बिछ्याउने गरिन्छ । ओस्कर अवार्ड र कान्स फिल्म फेस्टिभलमा ‘रेड कार्पेट’ को चर्चा धेरै हुने गर्छ । नेपालमा पनि पछिल्लो समय ‘रेड कार्पेट’ अवार्ड कार्यक्रममा बिछ्याउन थालिएको छ ।
तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चाकडी गर्न भन्दै आइतबार धनगढी विमानस्थलमा ‘रेड कार्पेट’ बिछ्याइएको छ । प्रायःजसो कार्यक्रममा प्रधानमन्त्री प्रचण्ड हेलिकोप्टर चार्टर गरेर जाने गर्थे । तर आइतबार सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सहभागी हुन बुद्ध एयरको नियमित उडानबाटै धनगढी विमानस्थल पुगेका थिए । विमानस्थल कार्यालयले प्रचण्ड हिँड्ने बाटोमा ‘रेड कार्पेट’ बिछ्याएको हो ।
प्रधानमन्त्री बुद्ध एयरको अन्तिम सिटमा बसेका थिए । उनी विमान ल्यान्ड हुनासाथ बाहिर निस्कँदा भर्याङमै ‘रेड कार्पेट’ बिछ्याइएको थियो । त्यसपछि विमानस्थलको रनवेमा पनि प्रचण्ड ‘रेड कार्पेट’ मै हिँडेको देखिन्छ । आफ्नै देशको विमानस्थलमा ‘रेड कार्पेट’ बिछ्याए पनि कम्तीमा प्रचण्डले हटाउन लगाएको भए हुन्थ्यो । तर उनी दौरासुरुवाल र कोटमा ठाटिएर ‘रेड कार्पेट’ मा हिँडेका छन् ।