अनुसन्धान थाल्न अख्तियारलाई विज्ञको सुझाव, रवि लामिछानेका सहयोगी पनि तानिने

काठमाडौं । विवादास्पद छविका व्यवसायी दुर्गा प्रसाईंसँग मन्त्री बन्न दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी सांसद ढाकाकुमार श्रेष्ठ अनुसन्धानको घेरामा परेका छन् ।

श्रेष्ठले व्यवसायी दुर्गा प्रसाईंसँग आफू मन्त्री बन्न लागेकाले सभापति रवि लामिछानेको कोर टिमका सदस्यलाई बुझाउन भन्दै दुई करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएपछि उनीविरुद्ध अनुसन्धान सोझिएको हो ।

श्रेष्ठविरुद्ध अख्तियार दुरपयोग अनुसन्धान आयोगले अडियोलाई नै प्रमाणका रुपमा लिएर अनुसन्धान गर्न सक्ने विज्ञको भनाइ छ । दुई जनाबीच भएको संवादका आधारमा पदीय दुरुपोग, पद खरिदका घूस दिन खोजेको, कोर टिमको पनि नाम लिएकाले सबैलाई जोडेर अनुसन्धान गर्नुपर्ने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआइबीका पूर्वनिर्देशक हेमन्त मल्ल ठकुरी बताउँछन् । अडियोको परीक्षणले त्यसको प्रमाणित हुने भएकाले संसदले समेत आफ्नो गरिमाका लागि छुटै छानबिन गर्न सक्ने उनको भनाइ छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भने यस विषयमा निवेदन आए कारबाही अगाडी बढाउने जनाएको छ । औपचारिक प्रतिक्रिया दिन नमानेका आयोगका प्रवक्ता भोला दाहालले सांसदले पैसा मागेको विषयमा छलफल हुन बाँकी नै रहेको जनाए ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *