मेयर बालेन्द्रलाई सचेत गराउँदै सरकारले भन्यो- जिम्मेवारी बोधसहित काम गर्नू
काठमाडौं । मन्त्रिपरिषद् बैठकमा काठमाडौं महानगरपालिकाका प्रमुख (मेयर) बालेन्द्र शाहको आलोचना भएको छ । सिंहदरबारको फोहोर नउठाउने घोषणा गरेका बालेन्द्रको गतिविधि अराजकतातिर गइरहेको भन्दै सरकारले त्यसम्बन्धनमा जिम्मेवार बन्न आग्रह गर्ने भएको छ ।
सरकारका प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले फोहोर व्यवस्थापन स्थानीय सरकारले नै गर्ने नीति रहेको र सो नीतिबाट बालेन्द्र शाह भाग्न नमिल्ने बताएकी छन् ।
उनले मन्त्रिपरिषद् बैठकमा बालेन्द्र शाह अराजकतातिर गइरहेकोबारे छलफल भएको जानकारी दिइन् । सञ्चारमाध्यमसँग कुरा गर्दै उनले भनिन्, ‘फोहोर व्यवस्थापन नीतिगतरूपमा स्थानीय सरकारले गर्ने हो । सिंहदरवारको फोहोर नउठाउने काठमाडौंका मेयरको निर्णयलाई गम्भीरतापूर्वक लिएका छौं । उहाँ अराजकतातिर जानुभएको छ । मन्त्रिपरिषद् बैठकमा यसबारे गम्भीर छलफल भएको छ । कि त नीति परिमार्जन हुनुपर्यो । नत्र भने त फोहोर व्यवस्थापनको जिम्मा स्थानीय सरकारकै हो ।’
काठमाडौंका मेयर बालेन्द्र शाहले केही दिनअघि सरकारले समन्वय नगरेको भन्दै सिंहदरवारको फोहोर नउठाउने घोषणा गरेका थिए । उनले नेताहरूलाई सिस्डोलमा डम्प नगरेसम्म देश नसुध्रिने समेत बताएका थिए । उनले फोहोर नउठाउनुका विभिन्न १४ कारण समेत स्पष्ट पारेका थिए ।
प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलाई नियुक्ति गरिएको छ ।’
मन्त्रिपरिषद्ले प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा पत्रकार महासंघका पूर्वअध्यक्ष गोविन्द आचार्यलाई नियुक्ति गरेको पनि मन्त्री शर्माले जानकारी दिइन् ।