जलवायु परिवर्तन सम्बन्धी सचेतना सहित नबिल क्यालेन्डर २०८० सार्वजनिक
काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी सचेतना तथा पर्यावरण प्रवर्धन प्रति दायित्वबोध’ मुख्य नाराका साथ नबिल बैंकले नयाँवर्ष २०८० सालको नयाँ क्यालेन्डर सार्वजनिक गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाका साथ वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य लगायत नायब प्रमुख कार्यकारी अधिकृतद्वय विनयकुमार रेग्मी तथा भूपेन्द्र पाण्डेले भित्तेपात्रो र टेबल क्यालेन्डर सार्वजनिक गरेका हुन् । नबिल क्यालेन्डरमा नेपाली बाह्र महिनाको मौसम तथा प्राकृतिक सौन्दर्यलाई दर्साउने फोटोहरू राखिएको छ भने संवर्धनको लागि आह्वान गरिएको छ । बैंकले अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) सँग तस्बिरहरूको लागि सहकार्य गरेको थियो । क्यालेन्डरमा जलवायु परिवर्तन सम्बन्धी सचेतना राखिनुको विषयमा प्रकाश पार्दै नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्यालले भने, ‘जलवायु परिवर्तनलाई बैंकिङ लगायत सबै क्षेत्रबाट गम्भीरतापूर्वक ध्यानपुर्याउन जरुरी छ । ‘जलवायु क्षेत्रमा उपयुक्त लगानी गरी यस संसारलाई सबैको लागि बाच्न योग्य बनाउनु नै अहिलेको प्रमुख आवश्यकता हो । नबिल बैंकको यस कदमले सम्पूर्ण बैंकका कर्मचारी, सरोकारवाला, ग्राहकवर्ग, सञ्चालक समितिलगायत सम्पूर्ण जनतामा जलवायु परिवर्तन सम्बन्धी सचेतना फैलाउन र जीवनशैलीमा स–साना परिवर्तन गर्न अभिप्रेरित गर्ने सिइओ ढुंगानाको भनाइ छ । नबिलले दिगो बैंकिङको अवधारणालाई आत्मासाथ गरी आएको र वातावरण प्रति सदैव जिम्मेवार रहेको उनले बताए । नयाँवर्षको सुरुवातसँगै भित्तेपात्रो देशै भरका आफ्ना शाखाहरूबाट कर्मचारी, ग्राहक, सरोकारवाला सबैमा पुर्याउने योजना बैंकको छ । बैंकले केही तस्बिरहरूको सौजन्यका लागि अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) प्रति बैंक आभारी रहेको सिइओ ढुंगानाले बताए । नबिलले हालसालै हरित गृह ग्याँस विसर्जन सम्बन्धी रिपोर्ट पनि सार्वजनिक गरेको थियो ।