मिटरब्याजी र सरकारबीचको वार्ता भंग, माग सम्बोधन नभएको आरोप
काठमाडौं । मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समिति र सरकारबीचको वार्ता भंग भएको छ ।
बिहीबार गृह मन्त्रालयमा भएको वार्तापछि सरकारी वार्ता टोलीले आफ्ना माग सम्बोधन नगरेको भन्दै सरकारले बनाएको वार्ता टोलीसँगको वार्ता भंग गरेको हो ।
पाँच दिनसम्म भएको वार्तामा सरकारी वार्ता टोलीले पुरानै कुराहरु दोहोर्याएको भन्दै त्यसलाई स्वीकार गर्न नसकेर वार्ता भंग गर्नुपरेको मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिका प्रवक्ता नवीन निर्गले जानकारी दिए । उनका अनुसार संघर्ष समितिले राखेका ६ बुँदे मागमा सरकारी पक्षले सम्बोधन गर्न चाहेन ।
सहमति नजुटेपछि अब मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदुर संघर्ष समितिले आन्दोलनलाई निरन्तरता दिने भएको छ । गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबारसम्म वार्ता निष्कर्षमा पुग्ने बताएका थिए ।