फर्केर हेर्दा : २०७९ मा महँगीमा पिल्सिए नेपाली
काठमाडौं । २०७९ वर्ष नेपाली जनताका लागि त्यति सुखद रहेन । निर्वाचनको वर्ष भएकाले पनि राजनीतिदेखि अन्तर्राष्ट्रिय परिवेश पनि प्रतिकूल रहे । विश्व अर्थतन्त्रमा देखिएको आर्थिक मन्दी, कोरोनाको प्रभाव, रुस र युक्रेनबीचको युद्ध, पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिलगायतका कारणले दैनिक उपभोग्य वस्तुको मूल्य बढ्न पुगेको छ । दैनिक उपभोग्य खाद्यान्नलगायतका सामग्रीको मूल्य चर्को वृद्धि हुँदा उपभोक्ताले महँगीको मार खेप्नुपरेको छ ।
यो एक वर्षमा प्रायः सबै प्रकारका चामलको मूल्य बढेको छ । एक केजीमा १० रुपैयाँदेखि ३० रुपैयाँसम्म मूल्य बढ्दा उपभोक्ता मारमा परेका छन् । तेल र घिउको मूल्य त छोइनसक्ने गरी बढेको छ । घिउमा प्रतिकेजी चार सय रुपैयाँसम्म बढेको छ । तेलमा पनि एक सय रुपैयाँसम्म लिटरमा बढेको छ । बेसार ५० रुपैयाँ, भटमास एक सय रुपैयाँ, चना ३५ रुप्ैयाँ दूध १० रुपैयाँले बढेको छ । जसका कारण आम्दानी नहुने गरिब र विपन्न नागरिकको ढाड सेकिएको छ ।
गएको वर्ष विगतको तुलनामा समग्रमा २५ देखि ३० प्रतिशतले खाद्यान्नलगायतमा मूल्य बढेको छ । एक वर्षमा सबैभन्दा धेरै घिउ–तेलको मूल्य बढेको छ । अघिल्लो वर्ष नौ सय रुपैयाँ प्रतिकिलो रहेकोमा वर्षको अन्त्यसम्म आइपुग्दा घिउ १३ सय पुगेको छ । त्यस्तै, काँचो तोरीको तेल लिटरमै ८० रुपैयाँले बढेको छ । अघिल्लो वर्ष लिटरको दुई सय ७० रुपैयाँ रहेको तेल अहिले तीन सय ५० प्रतिलिटर पुगेको छ । त्यस्तै, चामलमा पनि उत्तिकै मूल्य बढेको छ । गत वर्षको तुलनामा त्रिशूली पोखरेली चामल मूल्य किलोमै २० रुपैयाँले बढेको छ ।
अघिल्लो वर्ष प्रतिकिलो ८५ रुपैयाँमा पाइने चामल अहिले १०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको छ । मैदामा २० रुपैयाँले बढेको छ भने दूधको मूल्य गत वर्षको भन्दा ११ रुपैयाँ बढाइएको छ । तर सरकारी निकायले अनगुमन र निरीक्षण भने गर्नै सकेनन् । हरिया तरकारी र फलफूल पनि विगतको वर्षभन्दा अघिल्लो वर्ष मूल्य बढेको छ ।