स्वतन्त्रको उदयले पुराना दललाई चुनौती
काठमाडौं । २०७९ चुनावी वर्ष रह्यो । एक वर्षमा स्थानीय, प्रदेश र प्रतिनिधिसभा निर्वाचन भए । गत वर्ष वैशाख ३० गते देशभर एकैपटक निर्वाचन सम्पन्न भयो । यस्तै, मंसिर ४ गते प्रदेश र प्रतिनिधिसभा निर्वाचन भयो ।
बितेको वर्ष नेपाली राजनीतिमा उथलपुथल ल्याउने हिसाबले अघि बढेको देखिन्छ । स्थानीय निर्वाचनमा धेरै ठाउँमा स्वतन्त्र उम्मेदवारले बाजी मारे । उनीहरूले स्थापित ठूला दल नेपाली कांग्रेस, एमाले, माओवादीका उम्मेदवारलाई नै पराजित गरे ।
स्थानीय तहको निर्वाचनमा ३८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भए । राजनीतिक दलबाहेक ३८५ जना स्वतन्त्र उम्मेदवार विभिन्न पदमा निर्वाचित भए । जसमा २६६ पुरुष र ११९ महिला छन् । नगरपालिकाको मेयरमा सात र गाउँपालिका अध्यक्षमा ६ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भए । काठमाडौं महानगरपालिकामा बालेन्द्र साह बालेन, धरान उपमहानगरपालिकामा हर्क साम्पाङ, धनगढी उपमहानगरपालिका गोपाल हमाल र जनकपुर उपमहानगरपालिकामा मनोजकुमार साह सुडी, बर्दिबास (महोत्तरी) नगरपालिका प्रमुखमा स्वतन्त्र प्रह्लादकुमार क्षत्री विजयी भए । बर्दिबासमा प्रमुख, उपप्रमुख र चार वडाध्यक्ष स्वतन्त्रले जितेका छन् ।
जुम्लाको चन्दननाथ नगरपालिकामा राजुसिंह कठायत कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र रूपमा उम्मेदवारी दिएर विजयी भए । बैतडीको डिलासैनी गाउँपालिकामा सन्तोषप्रकाश जोशीले स्वतन्त्रबाट अध्यक्षमा विजयी भए । कालीकोटमा एकीकृत समाजवादीका कमलबहादुर शाही पनि स्वतन्त्र हैसियतमै खाँडाचक्र नगरपालिकाको प्रमुखमा विजयी भए । स्वतन्त्र उपमेयर दुई र उपाध्यक्ष दुईजना निर्वाचित भएका छन् । स्वतन्त्र वडाध्यक्ष १३६ निर्वाचित भए । तीमध्ये १३३ पुरुष र तीन महिला छन् । महिला सदस्यमा ६०, दलित महिला सदस्य ५५ र सदस्यमा ११७ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भए ।
विजयी स्वतन्त्र उम्मेदवारमध्ये काठमाडौंका बालेन र धरानका मेयर हर्कराज साम्पाङ वर्षभरि नै चर्चामा रहे । दुवैले संघीय सरकारलाई चुनौती दिइरहेका छन् ।
२०७९ मै सञ्चारकर्मी रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे । पार्टी खोलेको सात महिनामै चुनावमा गएका रवि ४३ दिन उपप्रधानसहित गृहमन्त्री बन्न सफल रहे । उनको पार्टीले २० सिट जितेको थियो । तर, दोहोरो नागरिकताका कारण रविको सांसद पद खारेज भयो । जसकारण आगामी वैशाख १० गते चितवन २ मा उपनिर्वाचन हुँदैछ । सरकारमा गएपछि रवि दोहोरो नागरिकता र राहदानीका कारण चर्चा र विवादमा परिरहेका छन् ।
यही वर्ष राष्ट्रपति, उपराष्ट्रपति, सभामुख, उपसभामुखको निर्वाचन भयो । राष्ट्रपतिमा रामचन्द्र पौडेल, उपराष्ट्रपतिमा रामसहायप्रसाद यादव, सभामुखमा देवराज घिमिरे र उपसभामुखमा इन्दिरा राना निर्वाचित भए ।