प्रतिनिधिसभामा प्रधानमन्त्री हराएको सूचनादेखि चीनलाई बाँदर बेच्नेसम्मकाे चर्चा

काठमाडौं । प्रतिनिधिसभाको आइतबार बसेको शून्य, विशेष समय बैठकमा सांसदहरूले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

विशेष गरी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आर्थिक संकट टार्न बाँदर चीनलाई बेच्नुपर्ने, एमाले सांसद रघुजी पन्तको प्रधानमन्त्री हराएको सूचना र जनमोर्चा सांसद चित्रबहादुर केसीको रवि लामिछाने लक्षित अभिव्यक्ति चर्चामा रहे ।

सांसद चित्रबहादुर केसीले राष्ट्रिय परिचयपत्र रुजु गर्ने जिम्मा निजी विदेशी कम्पनीलाई दिने निर्णय आपत्तिजनक भएको बताए । सात दिनभित्र बोलपत्र गरेर गरिएको निजी कम्पनीलाई दिने निर्णय अवैध रहेको भन्दै उनले नयाँ पार्टीले पनि पुरानै शैलीमा काम गरेको बताए । उनले मापदण्ड घटाएर सात दिने बोलपत्र घटाउनु पनि कानुनविपरीत भएको बताए ।

‘पुराना पार्टीले नै गल्ती कमजोरी गरेका थिए । आफ्नो स्वार्थअनुसार नियम कनुन बनाउँथे । नयाँ आएका पार्टीले नयाँ चिज ल्याउने भए भनेर नेपाली जनता हेरिरहेका थिए,’ केसीले रविप्रति कटाक्ष गरे, ‘खोस्टाले छोपेको बिरालो छिट्टै म्याउ गर्‍यो । यस्ता प्रवृत्तिलाई यसै छाड्नुहुन्न ।’

कांग्रेसका सांसद खतिवडाले पहाडी भेगमा जनतालाई सास्ती दिइरहेका बाँदरलाई चीनतिर निकासी गर्न सरकारलाई सुझाव दिएका छन् । उनले श्रीलंकाको उदाहरण दिँदै केही बाँदर चीनतिर पठाउन आग्रह गरेका हुन् । ‘भर्खरै पनि चर्चा चल्यो, देशमा बाँदर आतंक छ, मैले एउटा समाचार पढेको थिए । श्रीलंकाले बाँदर चीन निकासी गरेर बेचेछ । आर्थिक संकट परिरहेको छ, केही बाँदर चीन लैजाने व्यवस्था गरियोस् । कि मार्ने अनुमति दिइयोस्,’ खतिवडाले भने ।

एमाले सांसद रघुजी पन्तले संसदमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड हराएको भन्दै सूचना सुनाए । ‘नागरिकताको नाम पुष्पकमल दाहाल, चलनचल्तीको नाम प्रचण्ड, स्थायी ठेगाना फेरिराख्ने, अस्थायी ठेगाना कहिले खुमलटार कहिले बालुवाटार, हुलीया पहिले पहिले कोट पाइन्ट लगाउने गरेपनि हाल दौरा सुरुवाल र टोपी पनि लगाउने उमेर ६५ नाघेर ७० नपुगेको जस्तो देखिने,’ उनले भने ।

एमाले सांसद विद्या भट्टराईले कास्कीको सेती नदीको जोखिम क्षेत्रमा सर्वसाधारण दुर्घटनामा पर्ने क्रम बढेकाले नदी किनार वरपर तारबार गर्न माग गरिन् ।

रास्वपा सांसद डा. तोसिमा कार्कीले चिकित्सा शिक्षामा योग्यताअनुसारको भर्ना क्रमलाई पन्छाएर स्वास्थ्य मन्त्रालयले कार्यविधि बनाउँदा समस्या आएकाले सुधार गर्न माग गरिन् । स्वास्थ्य संयन्त्रलाई क्षति हुनबाट बचाउन पनि योग्यता क्रमअनुसारको कार्यविधि हुनुपर्नेमा उनको जोड थियो ।

एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले मानव बेचबिखनमा संलग्नलाई कारबाही गर्नुपर्नेमा जोड दिए ।
नेमकिपा सांसद प्रेम सुवालले काठमाडौं विश्वमै फोहोर सहरमा परिणत हुँदा क्यान्सरलगायत रोगका बिरामी बढेकाले राजधानीमा प्रदुषणको समस्या समाधान गर्न माग गरे ।

राप्रपा सांसद रोशन कार्कीले पाँचखालकी मृगौला पीडित सत्यदेवी थापाले कुमारी बैंकबाट लिएको ऋणको ब्याज तिर्दातिर्दै घर लिलामी गरिएकाले रोक्न माग गरिन्।

कांग्रेस सांसद श्यामकुमार घिमिरेले सिन्धुली सदरमुकामबाट कटारी निस्कने सडकको ठेक्का भएको तीन वर्ष बिते पनि वनका कारण काम रोकिएको उल्लेख गर्दै एक लाख नागरिकलाई समस्या भइरहेकाले समस्या समाधान गर्न माग गरे । वन ऐनलाई सार्वजनिक हितमा उपयोग गर्दा सहज हुने गरी संशोधन गर्न उनले माग गरे ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *