एउटै वडामा सांस्कृतिक र जनजाति सङ्ग्रहालय
गलकोट । बागलुङको काठेखोला गाउँपालिकाको एउटै वडामा दुई सङ्ग्रहालय निर्माण भइरहेका छन् । जनजातिको बाहुल्यता रहेको काठेखोला–४ तङ्ग्राममा एकसाथ सांस्कृतिक सङ्ग्रहालय र जनजाति सङ्ग्रहालय निर्माण भइरहेका छन् ।
लोपन्मुख विश्वका मुख्य बाजा सङ्ग्रह गर्ने उद्देश्यले स्थापना गरिएको जिमाक संस्थाको अगुवाइमा अहिले सांस्कृतिक सङ्ग्रहालय निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।
यस्तै गाउँपालिकाको अगुवाइमा जनजाति सङ्ग्रहालय निर्माण भइरहेको छ । तङ्ग्राममा रहेका जनजातिले आफ्नो पहिचान, भाषा, वेशभूषा र संस्कृतिलाई सङ्ग्रहित गर्न जनजाति सङ्ग्रहालय निर्माण थालिएको हो । गाउँपालिकाले एक वडा एक गौरवको योजनाअन्तर्गत झन्डै रु ६० लाख जति सङ्ग्रहालयमा लगानी भइसकेको छ ।
यस्तै लोपन्मुख बाजालाई संरक्षित गर्न अहिले सांस्कृतिक सङ्ग्रहालयको कामसमेत अन्तिम चरणमा पुगेको छ । सांस्कृतिक सङ्ग्रहालयमा व्यक्तिगत सहयोग तथा गण्डकी प्रदेश सरकारको गरी रु एक करोड ५० लाख लगानी भइसकेको छ । तङ्ग्राममा दुई सङ्ग्रहालय निर्माणपश्चात् आन्तरिक तथा बाह्य पर्यटकसमेत भित्र्याउने गाउँपालिकाको विश्वास छ ।
जिमाक सांस्कृतिक सङ्ग्रहालयमा विश्वभर रहेका विभिन्न देशका प्रमुख बाजासँगै नेपालका सबै लोकबाजाको सङ्ग्रह गरिने संस्थापक संरक्षक हेमराज आश्रमले जानकारी दिए । ‘सांस्कृतिक सङ्ग्रहालयमा विभिन्न देशका मुख्य बाजा सङ्ग्रह गरिनेछ, नेपालका लोकबाजा यहाँ देख्न पाइन्छ । सङ्ग्रहालयले लोकबाजाको पहिचान दिलाउँदै लोकबाजाको अध्ययन तथा अनुसन्धानस्थलका रुपमा समेत सङ्ग्रहालय देखिएको छ’, उनले भने ।
सांस्कृतिक सङ्ग्रहालयले गाउँपालिकाको तङ्ग्रामलाई सांकृतिक ग्रामका रुपमा विकास गर्दै आन्तरिक र बाह्य पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । विसं २०७६ देखि निर्माण थालिएको सङ्ग्रहालयको कूल लागत रु एक करोड ३० लाख रहेको छ । सङ्ग्रहालय निर्माणमा गण्डकी प्रदेश सरकारले तीन आर्थिक वर्षमा गरी रु एक करोड ३० लाख विनियोजन गरेको छ ।
जिमाक सङ्ग्रहालय जाने बाटो सुधार गरिनाका साथै मादलको प्रतिमा समेत बनाइएको छ । सङ्ग्रहालय आगामी जेठ मसान्तसम्म निर्माण गरिसक्ने सम्झौता रहेको छ । सङ्ग्रहालयमा नेपालकै ठूलो नगरासमेत राखिनेछ । उक्त नगरा निर्माण भइसके पनि स्थान अभावमा प्रदर्शनमा राख्न सकिएको छैन ।
त्यस्तै काठेखोला–४ तङ्ग्राममा नै पर्यटन तथा जनजाति सङ्ग्रहालय निर्माणलाई तीव्रता दिइएको छ । विसं २०७५ देखि निर्माण थालिएको सङ्ग्रहालयमा हालसम्म रु ५८ लाख खर्च भइसकेको छ । गाउँपालिकाको एक वडा एक गौरवको योजनाअनुसार पर्यटन तथा जनजाति सङ्ग्रहालय निर्माण कार्यले तीव्रता पाएको छ । सङ्ग्रहालयका लागि २०७५ सालमा रु पाँच लाख, २०७६ मा रु २० लाख, २०७७ मा रु १३ लाख, २०७८ मा रु १५ लाख र २०७९ मा रु पाँच लाख गाउँपालिकाले विनियोजन गरेको थियो ।
सङ्ग्रहालयमा गाउँपालिकाभित्र बसोबास गर्ने विभिन्न जाति÷जनजातिको पहिचान झल्कने सामग्री राखिने सङ्ग्रहालय निर्माण उपभोक्ता समितिका अध्यक्ष रनबहादुर पुनले जानकारी दिए । ‘यो सङ्ग्रहालयमा गाउँपालिकाभित्र बसोबास गर्ने जातजातिको वेशभूषा, संस्कृति, रीतिरिवाज, परम्परा झल्किने वस्तु राखिनेछ’, उनले भने । ‘यसले गाउँपालिकाका जनजातिहरुको लोपोन्मुख भाषा, संस्कृति तथा सामग्रीलाई झल्काउन मद्दत गर्नेछ ।’
गाउँपालिकाका उपाध्यक्ष तिलक पुनले तङ्ग्रामका दुई सङ्ग्रहालयले समग्र गाउँपालिकाको पहिचान दिने बताए । सङ्ग्रहालय निर्माणसँगै यसको प्रचारप्रसारमा गाउँपालिका आफैँ लाग्ने पुनको भनाइ छ ।