रविलाई भोट नहाल्ने भनेकै विषयमा मानसिक तनाव खेप्दै प्रतीक्षा
काठमाडौँ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता र समर्थक तालिवानी जस्ता देखिएका छन् । आफ्नो नेताविरुद्ध बोलेकै आधारमा उनीहरू आक्रामक भएर अश्लील गालीगलौज र धाकधम्कीमा उत्रिएका छन् । अहिले रविकै समर्थक र कार्यकर्ताबाट भरतपुर महानगरपालिका–११ भोजाहट, चितवनकी २१ वर्षीया प्रतीक्षा अधिकारीले मानसिक यातना खेपिरहेकी छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई मत नदिने भनेकै कारण सामाजिक सञ्जालमा तथानाम गाली व्यहोरिरहेकी हुन्। कपुरबोट मिडियाले केही दिनअघि उनीसँग चितवन–२ को चुनावी माहोलका विषयमा अन्तरवार्ता लिएको थियो। अन्तरवार्तामा अधिकारीले मंसिर ४ को निर्वाचनमा आफूले घन्टीमा भोट दिएको बताउँदै अब नदिने बताएकी छन्। रवि ‘टुरिस्ट’ रहेको टिप्पणी गर्दै उनले अब आफू नेपाली कांग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठलाई मतदान गर्ने बताएकी छन्।
अधिकारीले यति बोलेकै कारण सामाजिक सञ्जालमा रास्वपाका सभापति लामिछानेका समर्थक नराम्ररी जाइलागेका छन् । उनीविरुद्ध ‘श्रद्धाञ्जली’ देखि लिएर निकृष्ट भाषामा अश्लील गाली बर्साइरहेका छन्। ‘बाहिर निस्कनै गाह्रो भइरहेको छ। पूरै नराम्रानराम्रा गाली गरिरहेका छन्’, अधिकारीले भनिन्, ‘कति पैसा खाएर बोलिस् भनेर सोध्छन्। आफ्नो चाहना र धारणा राख्दा यतिसम्म गिरेर बोल्नेले कसरी देश बनाउँछन् ?’
लामिछानेका समर्थनकहरू अधिकारीको सोही भिडिओलाई लिएर अश्लील रूपमा उत्रिएपछि अहिले कपुरबोट मिडियाले उक्त भिडिओ सामाजिक सञ्जालबाट हटाएको छ। अधिकारीको जस्तै अवस्था चितवनकै कालिका नगरपालिकाकी सुजना मल्लको पनि छ। उनले पनि कपुरबोट मिडियामा आफ्नो धारणा राख्दै नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेलाई भोट हाल्ने बताएकी थिइन्। यति भनेपछि लामिछानेका समर्थक सामाजिक सञ्जालमा उनीमाथि पनि अश्लील स्तरमा जाइलागेका छन् ।
लामिछाने र रास्वपाको विपक्षमा धारणा आउनासाथ सामाजिक सञ्जालमा समर्थकहरू यसैगरी निम्नस्तरमा उत्रिएर गाली वर्षाउन सुरु गर्छन्। लामिछाने र रास्वपाको आलोचनात्मक टिप्पणी, सामग्री र विश्लेषण आउनासाथ भर्रर ‘आरआइपी’ (श्रद्धाञ्जली), दलाल, झोले, देशद्रोहीलगायतका निम्न स्तरका कमेन्ट बर्सन थाल्छ। महिलालाई निकृष्ट र यौनजन्य टिप्पणी गरेर निरुत्साहित गर्न कोसिस गर्न थालेका छन् ।