मिटरब्याजपीडितहरुमाथि अत्यधिक बल प्रयोग भएकोमा आयोग गम्भीर

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले धर्नामा रहेका मिटरब्याजपीडितहरुमाथि अत्यधिक बल प्रयोग भएकोमा गम्भीर ध्यानाकर्षण भएको छ । न्यायको माग राखी विगत केही दिनदेखि काठमाडौँको शान्तिवाटिकामा धर्नामा बसेका मिटरब्याजपीडितहरुमाथि प्रहरीद्वारा अत्यधिक बल प्रयोग गरी घाइते बनाएको एवं धरपकड गरिएको घटनाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको प्रवक्ता टीकाराम पोखरेलले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले घटनाको स्थलगत अनुगमन गरेको छ । आयोगका अनुसार काठमाडौँको शान्ति वाटिकामा शान्तिपूर्ण धर्नामा रहेका मिटरब्याजपीडितहरु प्रधानमन्त्रीलाई भेट्ने तयारीका साथ शान्तिवाटिकाबाट निस्केको अवस्थामा प्रहरीबाट रोक लगाएको र सोही क्रममा झडप भएको देखिएको छ ।

सो क्रममा धर्नामा रहेका व्यक्तिहरुलाई प्रहरीले अत्यधिक बल प्रयोग गर्दै धरपकड गरेको, पीडितहरुले प्रयोग गरिरहेको खाना पकाउने ग्याँस, खाद्यान्नलगायतका सामग्रीहरु जबरजस्ती गरी लगिएको, धर्नामा रहेका प्रदर्शनकारी र वृद्धवृद्धाहरुलाई समेत नियन्त्रणमा लिई महेन्द्र पुलिस क्लबको भवन परिसरमा लगी कुटपिट गरिएको आयोगको अनुगमनबाट पाइएको आयोगले जनाएको छ ।

प्रहरीको कुटपिटबाट घाइते भई काठमाडौँको ट्रमा सेन्टरमा उपचाररत व्यक्तिहरु, अस्पताल प्रशासन तथा महानगरीय प्रहरीवृत्त दरबारमार्गमा राखिएका व्यक्तिहरुलाई समेत अयोगको अनुगमन टोलीले भेट गरी जानकारी लिनुका साथै घाइतेहरुमध्ये अधिकांशलाई टाउकोमा चोट लागेको र ट्रमा सेन्टरमा उपचाररत तीनजना गम्भीर घाइते भएको आयोगको अनुगमनको क्रममा पाइएको विज्ञप्तिमा उल्लेख छ ।

आयोगले नागरिकको शान्तिपूर्ण रुपमा भेला हुने र आफ्ना विचारहरु राख्न पाउने अधिकारको सम्मान र संरक्षण गर्न, प्रदर्शनकारीहरुमाथि अत्यधिक बल प्रयोग नगर्न, घाइतेहरुको प्रभावकारी उपचारको व्यवस्था गर्न र सार्थक संवादमार्फत समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

सेयर गर्नुहोस्

Leave a Reply

Your email address will not be published. Required fields are marked *